मुलुकमा नारीमाथि हुने अन्याय र हिंसालाई निर्मूल पार्न सरकारले छिट्टै नयाँ कानून निर्माण गर्ने भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रेम, स्वार्थ, प्रतिशोध र अन्धविश्वासका कारण महिलाहरूले अझै पनि चरम यातना भोग्नुपरेको र उनीहरूको सपना सिमित बनेको तर्फ ध्यानाकर्षण गराउँदै यस विरुद्ध कडा कानूनी कदम चाल्ने स्पष्ट पार्नुभएको हो।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित सशस्त्र प्रहरी परिवार महिला संघको रजत महोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले पितृसत्तात्मक संरचनाभित्र केवल अधिकार मात्र खोजेर समस्याको समाधान नहुने धारणा राख्नुभयो। उहाँले महिलाहरूलाई उपलब्ध अधिकारको पूर्ण उपभोग गर्दै समतामूलक समाज निर्माणमा केन्द्रित हुन आग्रह गर्नुभयो। महिला हितका लागि कठोर कानून बनाउँदा आफ्नो व्यक्तिगत स्वार्थ जोडिएको आरोप लागे पनि आफू त्यस्तो आलोचना खेप्न तयार रहेको उहाँको भनाइ थियो।

सो अवसरमा मन्त्री गौतमले विपद् र संकटको समयमा नागरिकको भरोसाका रूपमा उभिने राष्ट्रसेवक सुरक्षाकर्मीका जीवनसंगिनीहरूको त्यागको उच्च प्रशंसा गर्नुभयो। सामाजिक सेवाको क्षेत्र फराकिलो भएकाले यसमा विभिन्न संघसंस्था र सहयोगी हातहरूको सहकार्य आवश्यक रहनेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा संघकी अध्यक्ष सावित्रा कुमारी जैसीले मन्त्री गौतमको उपस्थितिले संस्थाको परोपकारी अभियानमा थप ऊर्जा थपेको उल्लेख गर्नुभयो। शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा कार्य गर्दै आएको यस संघले आगामी दिनमा पनि सीमान्तकृत र पिछडिएका वर्गसम्म सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने महानुभाव तथा छात्रछात्राहरूलाई पुरस्कार एवं छात्रवृत्ति समेत वितरण गरिएको थियो।