नेपाली खेलकुद क्षेत्रको संस्थागत सुदृढीकरण र व्यावसायिक प्रवर्द्धनलाई थप गति दिँदै सरकारी स्वामित्वको नेपाल टेलिकम आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को आधिकारिक टेलिकम पार्टनरका रूपमा जोडिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले सञ्चालन गर्न लागेको यस प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट मान्यता प्राप्त गरेलगत्तै दुई संस्थाबीच यो रणनीतिक सहकार्य भएको हो।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। यो सम्झौतासँगै आगामी २०८३ कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने एनपीएल सिजन–३ मा टेलिकमले मुख्य सञ्चार साझेदारको भूमिका निर्वाह गर्नेछ।
सहकार्य कार्यक्रममा बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय खेलकुदको प्रवर्द्धनमा कम्पनीको निरन्तर प्रतिबद्धता दोहोर्याउँदै यस साझेदारीले संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्नुका साथै ब्रान्ड छवि र क्रिकेटको संस्थागत आधार बलियो बनाउने बताउनुभयो। यस्तै, क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले नेपाल टेलिकमजस्तो स्थापित ब्रान्डसँगको सहकार्यले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनुका साथै भविष्यमा खेलाडीहरूको जीवनस्तर र आर्थिक स्थितिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
नेपाल सरकारको खेलकुद प्रवर्द्धन नीतिकै निरन्तरताका रूपमा हेरिएको यो साझेदारीले आगामी दिनमा नेपाली क्रिकेटको प्राविधिक तथा व्यावसायिक विकासमा सुदृढ जग बसाल्ने अपेक्षा गरिएको छ।