नेपालको त्रिशूली ३ए आयोजनाको सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी उद्धारमा खटिएका सुरक्षाकर्मीहरूबाट प्राप्त भएको छ। सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी गराए अनुसार सुरुङभित्र मानिस बोलेको आवाज सुनिनु उद्धार कार्यका लागि अत्यन्तै आशाजनक संकेत हो।
मानिसको उपस्थिति पुष्टि भएसँगै नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई थप तीव्रताका साथ अगाडि बढाइरहेको छ। प्राविधिक तथा सुरक्षा टोलीहरू जोखिमका बीच कार्यक्षेत्रमा परिचालन भइरहेका छन्।
हिजो साँझसम्म इन्जिनियरको भूमिकामा स्वयम् निर्माण स्थलमै रहेर उद्धार कार्यमा संलग्न रहनुभएका सांसद न्यौपानेले अब काठमाडौँ फर्कने तयारी गर्नुभएको छ। उहाँले हेलिकप्टरको प्रयोग नगरी पैदल यात्रा गर्दै सर्वसाधारणसँग जनसंवाद मार्फत विदुर पुग्ने र त्यसपछि गाडी प्रयोग गरी काठमाडौँ फर्कने जानकारी दिनुभएको छ।
उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली र सम्पूर्ण उद्धारकर्मीहरू प्रति हार्दिक सम्मान व्यक्त गर्दै सांसद न्यौपानेले सुरुङभित्र रहेका मानिसहरूको सकुशल उद्धारको सुखद समाचार छिट्टै सुन्न पाइने आशा व्यक्त गर्नुभएको छ।