काठमाडौँको सत्ता वृत्त र सडकको राजनीति फेरि एकपटक पेचिलो बन्दै जाँदा नयाँ पुस्ताका जेन जी युवा नेताहरू राज्य संयन्त्रको कडा निगरानीमा परेका छन्। सरकार विरोधी गतिविधि, सम्भावित सडक आन्दोलन र उनीहरूको बढ्दो अन्तर्राष्ट्रिय सम्बन्धलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले छ जना प्रमुख युवा नेताहरूमाथि सूक्ष्म अनुगमन सुरु गरेका हुन्।

प्राप्त जानकारी अनुसार राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उनीहरूको दैनिक गतिविधि अनुगमनका लागि परिचालन गरिएको छ। सुरक्षा तथा गुप्तचर निकायहरूले यी युवा नेताहरूको व्यक्तिगत जैविक विवरण, नागरिकता, पासपोर्ट र जन्मस्थान लगायतका सम्पूर्ण कागजातहरू सङ्कलन गरी विस्तृत प्रतिवेदन तयार पारिसकेका छन्।

विशेष निगरानीमा परेका नेताहरूमा गौशला, काठमाडौँमा बसोबास गर्ने जस्मिन ओझा रहेकी छन्, जो पेसाले वकिल हुन् र काठमाडौँमै उनको आफ्नै घर रहेको छ। उनी अमेरिका र भारतसँग निकट मानिन्छिन्। त्यसैगरी, काठमाडौँको कोटेश्वरमा आफ्नै घर भएका र पेसाले व्यवसायी रहेका मिराज ढुङ्गाना चीनसँग निकट रहेको सुरक्षा विश्लेषण छ। शान्तिनगर क्षेत्रको होस्टेलमा बस्दै आएका महाजित अन्सारी बङ्गलादेश र पश्चिमी मुलुकहरूसँग नजिक मानिन्छन् भने बुढानीलकण्ठ बस्ने रक्षा बम तथा कीर्तिपुर क्षेत्रमा बस्दै आएका रवि किरण हमाल पश्चिमी शक्तिहरूसँग निकट मानिन्छन्। यस्तै, भक्तपुरमा बस्ने तनुजा पाण्डे युरोपियन युनियन र पश्चिमी राष्ट्रहरूसँग निकट छिन्। जस्मिन र मिराजबाहेक अन्य युवा नेताहरूको पेसा भने हालसम्म औपचारिक रूपमा खुलेको छैन।

यी नेताहरू खास जेन जी उमेर समूहका हुन् र उनीहरूले निरन्तर रूपमा विद्यमान सत्ता र राज्य संयन्त्रमाथि गम्भीर प्रश्नहरू उठाइरहेका छन्। उनीहरूलाई भावी राजनीतिको वैकल्पिक नेतृत्वका रूपमा हेर्न थालिएको छ भने कुनै पनि ठूलो जनआन्दोलनको नेतृत्व गर्न सक्ने क्षमता र अन्तर्राष्ट्रिय सम्बन्धसमेत बनाइसकेका कारण सरकारले उनीहरूलाई सम्भावित राजनीतिक चुनौती वा खतराका रूपमा लिएको छ।

ADVERTISEMENT Max Tiger INLINE

यदि नेपाली काङ्ग्रेसका नेता गगन थापा सडक आन्दोलनमा उत्रिएमा यी जेन जी नेताहरू पनि उनीहरूसँगै आगामी आन्दोलनमा होमिन सक्ने आकलन गरिएको छ। विगतका आन्दोलनहरूमा ऐतिहासिक सम्पदाहरू जलाउन भूमिका खेलेको वा सम्पदा जलिरहँदा साक्षी बनेको आरोप लागे पनि हालसम्म राज्य वा राजनीतिबाट कुनै लाभको पद नपाएका व्यक्तिहरूमा उनीहरू पर्दछन्।

उनीहरूको राजनीतिक सक्रियता र सडक गतिविधि थप तीव्र बन्दै गएमा राज्यले 'सुरक्षा दिने' बहानामा जुनसुकै बेला नियन्त्रणमा लिन सक्ने भय सिर्जना भएको छ। यसअघि पूर्वप्रधानन्यायाधीशलाई सुरक्षाको नाममा नियन्त्रणमा लिइएझैँ यी युवा नेताहरूलाई पनि जुनसुकै क्षण पक्राउ गर्न सकिने विश्लेषण भइरहेको छ।

यसैबीच, राजनीतिक वृत्तमा एउटा गम्भीर राजनीतिक षड्यन्त्रको सिद्धान्त समेत चर्चामा छ। वर्तमान सरकारको मूल आधार र सडकमा रहेका यी विपक्षी जेन जी नेताहरूको राजनीतिक उद्गम स्थल वा मूल एउटै रहेको दाबी कतिपय विश्लेषकहरूले गर्छन्। एउटै दृश्य वा अदृश्य शक्तिले सरकार र सडक दुवैको नेतृत्व गर्ने ठेक्का लिएको आरोपसमेत लाग्ने गरेको छ। शक्ति सन्तुलनको यो खेलमा नयाँ पुस्ताका युवाहरू कसरी अघि बढ्छन् र राज्यको निगरानीले कस्तो रूप लिन्छ भन्ने विषय आगामी दिनमा झनै चाखलाग्दो हुने देखिन्छ।