वीरगन्ज वीरगन्जको प्रतिष्ठित हरिखेतान बहुमुखी क्याम्पसलाई निजीकरण गर्ने र अर्बौँको सार्वजनिक सम्पत्ति कब्जा गर्ने माफियातन्त्रविरुद्ध 'नेपाल आज' ले निरन्तर समाचार प्रकाशित गरेपछि क्याम्पस प्रशासन र कब्जाकारी समूहभित्र ठुलो भूकम्प गएको छ।

'नेपाल आज' को शृङ्खलाबद्ध खोजी रिपोर्टिङका कारण कानुन र विधान विपरीत क्याम्पसलाई आफ्नो अधीनमा राख्ने प्रेमप्रकाश (पीपी) खेतानको कर्तुत सतहमा आएपछि उनीमाथि कारबाहीको माग देशव्यापी बनेको थियो। यसरी चौतर्फी दबाब र कारबाहीको डर बढेपछि आफूलाई जोगाउन र सरकारको आँखामा छारो हाल्न पीपी खेतानले सञ्चालक समिति 'पुनर्गठन' को नयाँ नाटक मञ्चन गरेका छन्।

अवैध समितिबाट अर्को अवैध समितिको जन्म

सामुदायिक क्याम्पसहरूको हकमा त्रिभुवन विश्वविद्यालयले बनाएको नियम र सञ्चालक समिति गठन गर्ने प्रक्रियाअन्तर्गत क्याम्पसको सञ्चालक समिति 'क्याम्पस सभा' ले विधिवत् रूपमा चयन गर्नुपर्ने स्पष्ट व्यवस्था छ।

तर, यी सम्पूर्ण कानुनी प्रक्रिया र विश्वविद्यालयको नियमलाई लत्याउँदै प्रेमप्रकाश खेतानले आफ्नो मनोमानी ढंगले अवैध सञ्चालक समिति गठन गरेका छन्। कारबाहीबाट बच्न उनले अध्यक्ष पदबाट आफू पछि हटेको देखाउँदै अर्कै व्यक्तिलाई अध्यक्ष बनाएर पर्दापछाडिबाट क्याम्पस कब्जालाई निरन्तरता दिने प्रपञ्च रचेको तथ्य बाहिरिएको छ।

यस्तो छ 'पुनर्गठित' भनिएको अवैध समिति

एक अनलाइन मिडियाले सम्प्रेषण गरेको समाचार तथा क्याम्पसद्वारा जारी सूचना अनुसार, क्याम्पस सञ्चालक समितिको २०८३ जेठ १६ गते सम्पन्न भएको भनिएको बैठकले नयाँ पदाधिकारी तथा सदस्यहरूलाई तथाकथित 'सर्वसम्मत' रूपमा चयन गरेको छ।

पुनर्गठित भनिएको समितिका पदाधिकारीहरू:

  • अध्यक्ष: डा. रामऔतार खेतान (प्रेमप्रकाशको सट्टा अर्का खेतानलाई नै नेतृत्व)

  • उपाध्यक्ष: हरि प्रसाद गौतम

  • कोषाध्यक्ष: सुरेश कुमार रुंगटा

  • सदस्यहरू: बेद बहादुर कार्की, श्रीमती बर्जित कौर र किशोरी राय

  • सल्लाहकार: जयप्रकाश खेतान

क्याम्पस प्रशासनले यो नवगठित समितिले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै हास्यास्पद दाबीसहित शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूलाई सूचना जारी गरेको छ। तर, सरोकारवालाहरूले भने एउटा अवैध समितिले खडा गरेको अर्को समितिले संस्थाको विकास नभई 'लुटको संरक्षण' मात्र गर्ने भन्दै यसलाई ठाडै अस्वीकार गरेका छन्।

"अवैध समितिले गठन गरेको समिति कसरी वैध हुन्छ?"

'नेपाल आज' को समाचार प्रभावसँगै वीरगन्जका सचेत नागरिक र पत्रकारहरूले पनि यस अवैध कदमको कडा विरोध गर्न थालेका छन्। वीरगन्जका स्थानीय पत्रकार रितेश त्रिपाठीले सामाजिक सञ्जाल फेसबुकमा कडा टिप्पणी गर्दै लेखेका छन्:

"अवैध सञ्चालक समितिले पुनर्गठन गरेको अर्को समिति कसरी वैध हुनसक्छ? अलि राम्रो छविका पात्र खोजेर आफ्नो गल्तीमा आवरण चढाउने काम गरिरहेका छन् हरिखेतान बहुमुखी क्याम्पस कब्जा गरेकाहरूले। यो संस्था जोगाउन युवाहरू एकजुट भएर उत्रिने बेला भयो।"

'नेपाल आज' ले उठान गरेको यो मुद्दा अब जनस्तरसम्म पुगिसकेको छ। कानुनको धज्जी उडाउँदै त्रिभुवन विश्वविद्यालयको नियम विपरीत खल्तीबाट बनाइएको यो नयाँ सञ्चालक समितिलाई नियामक निकायले मान्यता दिन्छ वा खारेज गरेर दोषीमाथि कारबाही गर्छ, त्यो भने हेर्न बाँकी नै छ। तर, वीरगन्जको ऐतिहासिक सम्पत्ति जोगाउन माफियाहरूको यो नयाँ 'आवरण' लाई पनि भत्काउनुपर्ने आवाज झन् बुलन्द भएको छ।