नेपाली हास्यव्यङ्ग्य क्षेत्रका एक नक्षत्र, चर्चित अभिनेता खेम शर्मा 'चतुरे' को अमेरिकामा असामयिक अवसान भएको छ। अमेरिकी समय अनुसार बेलुकी ८ बजे बाल्टिमोर सहरमा अवस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उपचारकै सिलसिलामा उनले अन्तिम सास फेरेका हुन्।
शर्माको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उनलाई गत बुधबार Towson (टाउसन) अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारका लागि उनलाई फ्यांकलिन स्क्वायर अस्पतालमा स्थानान्तरण गरिएको जानकारी अस्पताल पुगेका कलाकार तथा मोडल मनिष शर्माले दिएका छन्।
लामो समयदेखि सहकार्य गर्दै आएका वरिष्ठ हास्य कलाकार शिवहरि पौड्यालले फेसबुकमार्फत दुःख व्यक्त गर्दै शर्माको निधनको पुष्टि गरेका छन्। उनले भावुक हुँदै सामाजिक सञ्जालमा आफूले एउटा अमूल्य र असल मित्र सधैंका लागि गुमाएको उल्लेख गरेका छन्।
आफ्नो परिवारसहित लामो समयदेखि संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका शर्माले थुप्रै नेपाली चलचित्र तथा टेलिसिरियलहरूमा जीवन्त अभिनय गरेका थिए। विशेषगरी उनको मुख्य भूमिका रहेको लोकप्रिय टेलिशृङ्खला 'चतुरेको दाउपेच' नेपाली दर्शकमाझ सधैं स्मरणीय रहनेछ।