काठमाडौं । चलचित्र ‘लज्जावती’बाट नेपाली रजतपटमा मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नवनायक श्रीकृष्ण निरौलाको अभिनयको यतिबेला चौतर्फी चर्चा सुरु भएको छ। फिल्मले बक्स अफिसमा अपेक्षाअनुसारको व्यापारिक सफलता हासिल गर्न नसके पनि श्रीकृष्णको जीवन्त अभिनय र काम गर्ने शैलीले भने दर्शक तथा चलचित्रकर्मीको मन जित्न सफल भएको छ।
चलचित्र प्रदर्शनपछि हलमा फिल्म हेर्ने दर्शकहरूले उनको अभिनय क्षमताको खुलेर प्रशंसा गरिरहेका छन्। पहिलो फिल्म व्यावसायिक रूपमा अपेक्षाकृत कमजोर रहे पनि अभिनयमा देखाएको प्रभावशाली प्रस्तुतिका कारण उनलाई चलचित्र क्षेत्रबाट नयाँ अवसरहरू आउन थालेका छन्।
श्रीकृष्णसँग गरिएको कुराकानीका क्रममा उनले आफूलाई थप दुईवटा नयाँ चलचित्रको प्रस्ताव आइसकेको खुलासा गरेका छन्। डेब्यु फिल्मबाटै राम्रो प्रतिक्रिया पाउँदै लगातार दुईवटा चलचित्रको अफर पाउनुलाई चलचित्र वृत्तमा उनको सम्भावना र सफलताको संकेतका रूपमा हेरिएको छ।
पहिलो गाँसमै ढुंगा लागेजस्तो भए पनि यसबाट पाठ सिक्दै नायक निरौला अहिले स्क्रिप्ट छनोटमा निकै गम्भीर बनेका छन्। उनी भन्छन्, ‘अब संख्यात्मकभन्दा पनि गुणात्मक काममा ध्यान दिनेछु।’
हाल उनी प्राप्त भएका नयाँ स्क्रिप्टहरू अध्ययन गर्दै आफूलाई उत्कृष्ट लाग्ने कथा छनोट गर्ने तयारीमा छन्। पहिलो फिल्मबाटै आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका श्रीकृष्णले आगामी दिनमा राम्रो कथा र उत्कृष्ट टिमसँग काम गर्न सके बक्स अफिसमा समेत सफलता हासिल गर्न सक्ने अपेक्षा गरिएको छ। दर्शकहरू पनि उनको आगामी चलचित्रले व्यावसायिक सफलताको झन्डा गाड्नेमा आशावादी देखिएका छन्।
श्रीकृष्ण निरौलाका लागि ‘लज्जावती’ केवल एउटा फिल्म मात्र नभई, २६ वर्ष लामो संघर्षपछि प्राप्त भएको महत्त्वपूर्ण उपलब्धि पनि मान्न सकिन्छ। लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसरको प्रतीक्षा गरिरहेका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक मुख्य भूमिकामा देखिएका हुन्।
फिल्म ‘लज्जावती’को ग्रस कलेक्सन कमजोर देखिएको छ। साउन २९ गतेदेखि प्रदर्शनमा आएको ‘लज्जावती’ले २,९१६ टिकट बिक्री गर्दै ७,६८,४५० रुपैयाँको व्यापार गरेको चलचित्र विकास बोर्डले जनाएको छ।
व्यावसायिक परिणाम कमजोर भए पनि डेब्यु फिल्मबाटै अभिनयका कारण चर्चा बटुल्न सफल श्रीकृष्ण निरौलाका लागि भने ‘लज्जावती’ले नेपाली चलचित्र क्षेत्रमा नयाँ ढोका खोलिदिएको देखिन्छ।