नेपाली काँग्रेसले आफ्ना प्रभावशाली नेता पूर्णबहादुर खड्कालाई पार्टीको मर्यादा विपरित अनधिकृत वक्तव्य जारी नगर्न सचेत गराएको छ। बुधबार सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले खड्काको पछिल्लो कदमलाई विधान विपरित ठहर गरेको हो।

समितिका अनुसार खड्काले गत चैत १४ गते आफूमा नरहेको 'कार्यवाहक सभापति' को हैसियत उल्लेख गरी वक्तव्य सार्वजनिक गर्नुभएको थियो। सो क्रममा उहाँले नक्कली लेटरप्याड प्रयोग गरेर एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको पक्राउको विरोध गर्नुभएको समितिको निष्कर्ष छ। संयोजक तारामान गुरुङले यस्ता गतिविधि अनधिकृत भएको र यसले पार्टीको अनुशासन उल्लंघन गरेको बताउनुभयो।

पार्टीले खड्कालाई आइन्दा यस्तो गल्ती नगर्न चेतावनी दिँदै आगामी दिनमा अनुशासनहीन काम गर्ने जो कोहीलाई पनि विधान र प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ। यस निर्णयले पार्टीभित्र आधिकारिक जिम्मेवारी बाहिर रहेर वक्तव्यवाजी गर्ने प्रवृत्तीमाथि अंकुश लगाउने अपेक्षा गरिएको छ।

यसैबीच, अनुशासन समितिले २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा पार्टीको हित विपरित काम गर्ने सदस्यहरूमाथि पनि छानबिन तीव्र पारेको छ। पार्टीका उम्मेदवार विरुद्ध प्रचार गर्ने, विपक्षलाई सघाउने वा मौन बस्नेहरूलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ।

निर्वाचनसँग सम्बन्धित कुनै पनि उजुरी भए २०८२ चैत मसान्तभित्र केन्द्रमा पठाइसक्नुपर्ने समयसीमा तोकिएको छ। काँग्रेसले आफ्ना सदस्यहरूलाई पार्टीको नीति र अनुशासनभित्र राख्न चालेको यो कदमलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ।