७९औँ कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेपछि बहुचर्चित नेपाली चलचित्र 'तिनीहरू' (एलिफ्यान्ट्स इन द फग) आगामी २०८३ भदौ १९ (४ सेप्टेम्बर २०२६) देखि क्युएफएक्स सिनेमाघरहरूमा प्रदर्शन हुने भएको छ। निर्देशक अभिनाश बिक्रम शाहको निर्देशनमा बनेको यो पहिलो फिचर चलचित्र कान्सको प्रतिष्ठित 'अन सर्टेन रिगार्ड' विधामा छनोट हुने पहिलो नेपाली फिचर चलचित्र बनेर इतिहास रचेको थियो। यस चलचित्रले कान्समा प्रतिष्ठित जुरी प्राइज समेत हात पारेको छ।
जङ्गली हात्तीको बासस्थान रहेको जङ्गल नजिकैको एक नेपाली गाउँमा आधारित यस चलचित्रले स्थानीय किन्नर (पारलैङ्गिक तथा गैर-बाइनरी) समुदायकी नाइके पिरातीको कथा प्रस्तुत गर्दछ। पिराती आफूले माया गरेको पुरुषसँग सामान्य जीवन बिताउने सपना देख्छिन्। तर, आफ्नो समुदायकी एक छोरी बेपत्ता हुँदा र स्थानीयले सहयोग गर्न अस्वीकार गर्दा, पिराती आफ्नो व्यक्तिगत स्वतन्त्रता र सीमान्तकृत समुदायको सुरक्षाप्रतिको जिम्मेवारीमध्ये एक रोज्न बाध्य हुन्छिन्।
यस चलचित्रमा वास्तविक जीवनकी एलजीबीटीक्यूआइए+ अभियान्ता पुष्प थिङ लामाले मुख्य पात्र पिरातीको भूमिका निभाउनुभएको छ। चलचित्रमा दीपिका यादव, ज्यास्मिन विश्वकर्मा, आलिज घिमिरे र दुरा सञ्जय कुमार गुप्ताको पनि अभिनय रहेको छ। सन् २०२६ मे २० मा कान्समा प्रिमियर भएको यस चलचित्रले प्रदर्शनपछि सात मिनेटभन्दा बढी समयसम्म उठेर ताली पाएको थियो। यसका साथै चलचित्र 'क्यामेरा डी ओर' र 'क्वीर पाम'का लागि पनि मनोनीत भएको थियो।
अन्तर्राष्ट्रिय मञ्चमा अद्वितीय छाप छोड्न सफल यो चलचित्र स्वदेशी सिनेमाघरहरूमा प्रदर्शनमा आएसँगै नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।