नेपालका नयाँ पुस्ताका जेन जी युवा नेताहरूमाथि राज्यको सुरक्षा संयन्त्रले निगरानी बढाएको विषय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा बहस र प्रतिक्रियाको शृङ्खला जारी छ। 'नेपाल आज' मा प्रकाशित समाचारलाई लिएर सम्बन्धित युवा नेताहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत आ-आफ्नो धारणा र असन्तुष्टि व्यक्त गरिरहेका छन्।

यसै क्रममा जेन जी नेत्री जस्मिन ओझाले फेसबुक कमेन्टमार्फत आफ्नो भनाइ सार्वजनिक गरेकी छन्। उनले लेखेकी छन्, "मलाई निगरानीमै राखिएको हो भने म कुनै आतंकवादी होइन, आखिर किन र केका लागि निगरानीमा राखिएको हो? कारण त बताइदिनुपर्‍यो नि! हैट्!!! अनि अर्को कुरा, म नेपाली नागरिक हुँ र नेपाली नागरिकता बोक्छु है, थाहा नहुनेहरूलाई जानकारी गराएको मात्रै !" यसअघि अर्का जेन जी नेता माजिद अन्सारीले पनि मिडियाको रिपोर्टिङप्रति आपत्ति जनाउँदै कमेन्ट गरेका थिए। सुरुमा पत्रकार शब्दलाई तोडमरोड गरी अपशब्दका रूपमा 'पत्रुकार' लेखेका अन्सारीले पछि कमेन्ट सम्पादन (Edit) गर्दै लेखेका छन्, "राज्यको निकायलाई यस बारे जानकारी छ ? मलाई शक्तिशाली इन्डियाको एजेन्ट भन्न छोडेर कमजोर बङ्गलादेशको एजेन्ट भन्ने साहस तपाईंको कसरी भयो पत्रकार महोदय? यो आरोप की त पुष्टि गर्ने कि त प्रेस काउन्सिलमा जवाफ दिनका लागि तयार रहने । Nepal Aaja !"

ADVERTISEMENT Nepal Aaja Register

मूल समाचारमा कतै नउठाइएका प्रसङ्गमा युवा नेताहरूले दिन थालेका यस्ता स्पष्टीकरणले भने उनीहरूको राजनीतिक धरातल अलि हावादारी देखिन थालेको भन्दै व्यङ्ग्य उब्जाएको छ। विशुद्ध राजनीतिक शक्ति सन्तुलन र अनुगमनको विषयमा लेखिएको समाचारमा न त कुनै आतंकवादको प्रसङ्ग उल्लेख थियो, न त कसैको राष्ट्रियता वा नागरिकतामाथि नै प्रश्न उठाइएको थियो। तर, सामाजिक सञ्जालमा 'खुकुरी भन्दा कर्दा लाग्ने, मिलिनियल्स भन्दा जेन जी जान्ने' शैली प्रस्तुत गर्दै उनीहरू आफैँ काल्पनिक विषय खडा गर्न व्यस्त देखिन्छन्। यसअघि समाचारमा उल्लेख नै नगरिएको 'एजेन्ट' शब्दलाई लिएर माजिद अन्सारीले प्रश्न उठाएका थिए भने यी जेन जी नेत्री त अन्सारीभन्दा दुई कदम अगाडि बढेर सीधै आतंकवाद र राष्ट्रियताको प्रमाणपत्र पेस गर्न पुगिन्। यी दुवै 'अति-जान्ने' जेन जी नेताहरूले यस्तै अद्भुत साधना र विद्वता प्रदर्शन गर्दै गए भने भविष्यका दिनमा उनीहरू 'प्रधानमन्त्री' र 'राष्ट्रपति' बन्ने पक्का छ। पाठकहरूले पनि आगामी दिनमा उनीहरूबाट यस्तै थप रोचक र मनोरञ्जनात्मक स्पष्टीकरणको अपेक्षा गरिरहेका छन्, ताकि गम्भीर राजनीतिभित्र पनि मनोरञ्जनको राम्रै खुराक पाइइरहोस्।

सार्वजनिक वृत्तमा रहेका युवा प्रतिनिधिहरूले मिडिया रिपोर्टिङ र जनचासोका विषयमा दिने यस्ता अभिव्यक्तिले उनीहरूको राजनीतिक परिपक्वता र आगामी राजनीतिक यात्राको दिशा सङ्केत गर्दछ। राज्यको सुरक्षा निगरानी र त्यसप्रति युवा नेताहरूले जनाएको यो अनौठो शैलीको प्रतिक्रियाले आगामी दिनमा कस्तो मोड लिन्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।