नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले निर्वाचित सरकारलाई कुनै पनि बहानामा प्रतिशोधपूर्ण कदम नचाल्न कडा चेतावनी दिनुभएको छ। महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पत्रकारहरूले सधैं 'वाचडग' को भूमिका निर्वाह गर्ने भएकाले सरकारका प्रत्येक गतिविधिमाथि महासंघको कडा निगरानी रहने स्पष्ट पार्नुभयो।

अध्यक्ष शर्माले विशेषगरी नयाँ बन्न लागेका कानुनहरूप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ। कतिपय प्रस्तावित कानुनहरूले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई नै संकुचित पार्न खोजेको भन्दै उहाँले सरोकारवालाहरूसँगको पर्याप्त छलफल बिना कानुन नल्याउन सरकारलाई आग्रह गर्नुभयो। नागरिक अधिकारको रक्षाका लागि महासंघले नेपाल बार एशोसिएशन र 'पाफर्ड' जस्ता नागरिक संगठनहरूसँग मिलेर सशक्त मोर्चाबन्दी गर्ने तयारी समेत गरेको छ।

ADVERTISEMENT Nepal Aaja Register

प्रेस स्वतन्त्रतासँगै पत्रकारहरूको जीविकोपार्जनको सवाललाई पनि उहाँले प्रमुखताका साथ उठाउनुभएको छ। हाल धेरै सञ्चार गृहहरू आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै शर्माले मिडिया क्षेत्रलाई जोगाउन राज्यले विशेष लगानी गर्नुपर्नेमा जोड दिनुभयो। श्रम अधिकारको मुद्दामा महासंघले कुनै पनि हालतमा सम्झौता नगर्ने अडान उहाँले दोहोर्‍याउनुभयो।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मूलधारको पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठिरहेको सन्दर्भमा जिम्मेवार पत्रकारिताका लागि लामो संघर्ष आवश्यक रहेको शर्माको ठम्याइ छ। महासंघले आगामी दिनमा देशभरका पत्रकारहरूलाई गोलबद्ध गर्दै श्रम हक र स्वतन्त्रताको अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।