नेपाल दूरसञ्चार प्राधिकरणले हालै विभिन्न सञ्चार माध्यमहरूमा इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि भएको भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्क नबढेको स्पष्ट पारेको छ। प्राधिकरणले असोज २४, २०८३ मा एक प्रेस विज्ञप्ति जारी गर्दै इन्टरनेट इमेल सेवा प्रदायकहरूबाट शुल्क वृद्धिका लागि कुनै प्रस्ताव नआएको र प्राधिकरणबाट समेत यस्तो वृद्धि गर्न कुनै स्वीकृति प्रदान नगरिएको जनाएको छ।

प्राधिकरणका अनुसार दूरसञ्चार सेवा उपलब्ध गराएवापत प्रदायकहरूले लिने सेवा शुल्क उचित र मनासिब हुनुपर्छ। अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले लिने सेवा शुल्कको दर प्राधिकरणले तोकेको निर्देशिकाको आधारमा तयार गरी लागू हुने मितिभन्दा कम्तीमा तीन महिना अगावै स्वीकृतिका लागि पेश गर्नुपर्ने र स्वीकृत शुल्क अनिवार्य रूपमा सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
स्वीकृत दररेटभन्दा बढी शुल्क लिने, पूर्वस्वीकृति बिना शुल्क वृद्धि गर्ने तथा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गरेको पाइएमा दूरसञ्चार ऐन तथा नियम बमोजिम कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ। सेवा प्रदायकहरूले गैरकानुनी रूपमा बढी शुल्क लिएको वा उपभोक्ताको हकहित विपरीत कार्य गरेको भए ग्राहकले प्राधिकरणमा सोझै गुनासो गर्न सक्ने जानकारी गराउँदै उपभोक्ताको हकहित संरक्षण तथा स्वच्छ प्रतिस्पर्धा कायम राख्न आफू प्रतिबद्ध रहेको प्राधिकरणले जनाएको छ।