लेखक - ज्ञानमित्र -
१. एउटा कल्पनाबाट सुरु गरौं
कल्पना गर्नुस्, चितवनको एउटा घरमा एउटा सानो बच्चाको औंलाको टुप्पो ढोकामा च्यापिएर काटियो। आमा-बुबा हत्तारिँदै डाक्टरकहाँ पुग्छन्। डाक्टरले घाउ त टालिदिन्छन्, तर भन्छन् - "यो औंलाको टुप्पो अब फेरि आउँदैन। मान्छेको शरीरले यो गर्न सक्दैन।"
त्यही दिन, त्यही समयमा, मेक्सिकोको एउटा तालमा एउटा सानो जीव मुस्कुराइरहेको हुन्छ। उसको एउटा पूरा हात काटिएको छ। दुई हप्ता पछि त्यही ठाउँमा सानो टुसा पलाउँछ। दुई महिनापछि त्यो टुसा पूरा हात बन्छ - हड्डी, मासु, नसा, नङ र छाला सहित। दाग पनि हुँदैन।
यो जीवको नाम हो एक्सोलोटल (Axolotl - वैज्ञानिक नाम: Ambystoma mexicanum)।
एउटै घटनामा दुई फरक निर्णय - एउटामा शरीरले भन्छ "अब सकियो", अर्कोमा शरीरले भन्छ "फेरि बनाउँछु"। किन यस्तो हुन्छ ? यही प्रश्नले वैज्ञानिकहरूलाई सयौँ वर्षदेखि सताइरहेको छ, र २०२६ का दुई अध्ययनले यसको एउटा ठूलो जवाफ भेटिएको छ।
२. नाममा नै कथा छ
एक्सोलोटल नाम सुन्दा अचम्म लाग्छ। यो नाम एज्टेक (Aztec) सभ्यताबाट आएको हो। एज्टेक देवता शोलोट्ल (Xolotl) थिए - जो रूप बदल्ने, मृत्यु र आगोका देवता थिए। कथा भन्छ- देवताहरूले आफूलाई बलि दिन लाग्दा शोलोट्ल भाग्न खोजे र आफूलाई बचाउन पानीमा एउटा सानो सैलामैंडर बने। त्यसैले उनीहरूले यसलाई एक्सोलोटल भने - अर्थात् "पानीको देवता"। एक्सोलोटलका कोषहरूले आफ्नो मूल स्थान सम्झने क्षमता राख्छन्, जसलाई विज्ञानमा 'पोजिशनल मेमोरी' (Positional Memory) भनिन्छ। यही स्मृतिले नयाँ हातमा कुन भाग कता बन्ने भन्ने निर्धारण गर्छ।
नाममा नै रूप परिवर्तनको कथा छ। आज विज्ञानले पनि त्यही कुरा पुष्टि गर्दैछ - यो जीव रूप बदल्न जान्दछ।
एक्सोलोटल मेक्सिकोको सोचिमिल्को (Xochimilco) तालमा मात्र पाइने एक विशेष सैलामैंडर हो। अर्को अचम्मको कुरा, यो कहिल्यै ठूलो हुँदैन। अरू सैलामैंडर बच्चाबाट ठूलो भएपछि पानीबाट निस्केर जमिनमा जान्छन्, तर एक्सोलोटल जीवनभर बच्चा जस्तै पानीमै बस्छ। विज्ञानमा यसलाई नियोटेनी (neoteny) भनिन्छ—अर्थात् वयस्क अवस्थामा पुगे पनि बाल्यकालका विशेषता कायम राख्ने। हुनसक्छ, यही बाल्यकाल समातेर राख्ने क्षमताले नै यसलाई आफ्नो अंग फेरि बनाउने शक्ति दिएको हो।
३. सरल विज्ञान - घाउ कसरी फेरि हात बन्छ ?
हामीले हात काट्दा के हुन्छ ? रगत आउँछ, रगत जम्छ, विस्तारै छाला आउँछ र दाग बस्छ। शरीरको पहिलो उद्देश्य हो - छिटो बन्द गर, ज्यान बचा।
एक्सोलोटलले के गर्छ ? यसको पनि रगत जम्छ, तर त्यसपछि फरक कथा सुरु हुन्छ।
घाउको छेउमा भएका कोषहरू - हड्डीका कोष, मासुका कोष, छालाका कोष - तिनीहरूले आफ्नो पहिचान बिर्सन्छन्। हड्डीको कोषले भन्छ - "म अब हड्डी होइन, म फेरि काँचो कोष हुन्छु"। यो प्रक्रियालाई विज्ञानमा 'डिडिफरेन्सिएशन' (dedifferentiation) भन्छन्। यसको अर्थ हुन्छ - विभेदन हट्नु वा पुनः काँचो हुनु। अर्थात् - एउटा पाकेको, काम तोकिएको कोष (जस्तै हड्डीको कोष) ले आफ्नो पहिचान बिर्सेर फेरि काँचो, सबैथोक बन्न सक्ने अवस्थामा फर्कनु।
घाउ भएपछि पहिले घाउको सतहमा विशेष छाला बन्छ, जसलाई वाउन्ड एपिडर्मिस (Wound Epidermis) भनिन्छ। त्यसपछि त्यसको टुप्पोमा 'एपिकल एपिथेलियल क्याप' (Apical Epithelial Cap, AEC) बन्छ, जसले 'ब्लास्टेमा'लाई संकेत दिन्छ।
यस प्रक्रियामा नसाको भूमिका पनि महत्वपूर्ण छ; नसाले दिने विशेष संकेतहरूले एईसी बन्न र 'ब्लास्टेमा' कायम रहन मद्दत गर्छन्।
यी काँचो बनेका कोषहरू घाउको माथि जम्मा भएर एउटा सेतो टुप्पो बनाउँछन्, जसलाई 'ब्लास्टेमा' (Blastema) भन्छन्। सफल पुनर्निर्माणका लागि 'ब्लास्टेमा'मा हातको अगाडि र पछाडि दुवै पक्षका कोषहरू चाहिन्छन्; यी दुई पक्षका कोषहरू एकअर्कासँग संवाद गरेर नयाँ हात बनाउँछन्।
'ब्लास्टेमा'को लागि म तपाईंलाई कुमालेको उदाहरण दिन्छु। कुमालेको चक्रमा काँचो माटो राखिएको छ। त्यो माटोबाट दियो पनि बन्न सक्छ, गाग्री पनि बन्न सक्छ, घैला पनि बन्न सक्छ। के बन्ने भन्ने कुरा कुमालेको हातले दिने आकारले निर्धारण गर्छ।
'ब्लास्टेमा' पनि त्यही काँचो माटो हो। कुमालेको हात भनेको त्यस वरिपरिका संकेतहरू हुन् - कुन जीन सक्रिय हुने, कुन प्रोटिन कता जाने। एक्सोलोटलको कुमाले धेरै सिपालु छ, त्यसले काँचो माटोबाट पूरा हात बनाइदिन्छ। मान्छेको कुमाले हतारमा छ, त्यसले माटोलाई छिटो टालेर दाग बनाइदिन्छ।
२०२५ मा भिएनाको एउटा ल्याबमा एउटा रोचक प्रयोग भयो। वैज्ञानिकहरूले एक्सोलोटलको एउटा हातमा, जानाजान अर्को हातको पछाडिको कोष लगेर टाँसिदिए। के भयो ? त्यही ठाउँमा अर्को हात उम्रियो - अर्थात् एउटै ठाउँमा दुईवटा हात। यसले के देखायो भने, 'ब्लास्टेमा'ले नक्सा पढ्छ। गलत नक्सा दियो भने, शरीर अलमलिन्छ र गलत अंग बनाउँछ। त्यसैले नक्सा कति महत्त्वपूर्ण छ भन्ने यो प्रयोगले देखाउँछ।
यो कुरा पहिलो पटक १९७८ मा नै प्रमाणित भएको थियो, जब वैज्ञानिकहरूले एक्सोलोटलको 'ब्लास्टेमा' घुमाएर अर्को हात उमार्न सकिने देखाए। तर यसको आणविक कारण भने २०२५ मा भिएनाको आईएमबीए ल्याबकी एल्ली तनाका र उनका टोलीले पत्ता लगाए—पछाडिको कोषमा हैंड२ नामक जीन सक्रिय हुन्छ, जसले पोजिशनल मेमोरी कायम राख्छ। यही हैंड२ ले 'ब्लास्टेमा'लाई कहाँ के बनाउने भन्ने निर्देशन दिन्छ।
४. जुलाई २०२६ मा के नयाँ भेटियो ? - हाम्रो शरीरमा पनि नक्सा छ
अब आउँछ सबैभन्दा नयाँ कुरा।
हामीले सोच्थ्यौं, एक्सोलोटलको यो क्षमता त उसको मात्र हो, मान्छेमा त यो क्षमता छैन। तर जुलाई २०२६ का दुईवटा अध्ययनले भने - नक्सा त हामीमा पनि छ।
पहिलो अध्ययन - पीएनएएस, अप्रिल २०२६ मा प्रकाशित:
यो अध्ययन वेक फोरेस्ट यूनिवर्सिटीका जैश कुर्री, ड्यूकका डेभिड ब्राउन र विस्कोन्सिनका वैज्ञानिकहरूले मिलेर गरे। उनीहरूले तीनवटा जीव लिए - पानीमा हात उमार्ने एक्सोलोटल, पखेटा उमार्ने जेब्राफिश र औंलाको टुप्पो मात्र उमार्न सक्ने मुसा।
उनीहरूले घाउ निको हुँदा कुन-कुन जीन सक्रिय हुन्छन् भनेर हेरे। तीनै जीवमा एउटै परिवारका दुई जीन - एसपी६ र एसपी८ - एउटै समयमा सक्रिय भए। यी जीनहरू मालिक जीन (ट्रान्सक्रिप्सन फ्याक्टर) हुन्, जसले अरू सयौं जीनलाई आदेश दिन्छन्।
प्रमाण के ? उनीहरूले क्रिस्पर (CRISPR) प्रविधिले एक्सोलोटलमा एसपी८ जीन हटाइदिए। एसपी८ बिना 'ब्लास्टेमा' त बन्यो, तर त्यसले पूरा हात बनाउन सकेन, औंला बाङ्गा-टिङ्गा भए। एसपी८ भनेको हात बनाउने मुख्य कारीगर भनौ महत्त्वपूर्ण नियामक हो।
दोस्रो अध्ययन - सेल रिपोर्ट्स, २८ जुलाई २०२६ मा प्रकाशित:
यसको नाम थियो—("कन्जर्भ्ड एन्टेरियर/पोस्टेरियर टिस्यु एसिमेट्री एन्कोड्स प्रोक्सिमल/डिस्टल पोजिसनल इन्फर्मेसन ड्युरिङ एक्सोलोटल लिम्ब रिजेनेरेसन" - Trostle et al., 2026)।
यसले के देखायो भने, एक्सोलोटलको हातमा अगाडि र पछाडिको भागमा फरक-फरक जीन सक्रिय हुन्छन्। यो अगाडि-पछाडिको फरकले नै नयाँ हातमा कुन भाग कता बन्ने भन्ने जानकारी दिन्छ। अचम्मको कुरा, यस्तै अगाडि-पछाडिको सीमा मान्छेको भ्रूणको हातमा पनि भेटियो।
सरल भाषामा - हामी आमाको कोखमा हुँदा हात बनाउन प्रयोग भएको नक्सा, हाम्रो डीएनएमा आज पनि सुरक्षित छ। हामीले प्रयोग गर्न छोड्यौं, तर डीएनएले त्यो नक्शा फालेको छैन।
५. के हो, के होइन - यो बुझ्नु सबैभन्दा जरुरी छ
के हो ?
१. यो एउटा विश्वव्यापी पुनर्योजन कार्यक्रमको खोज हो। जसरी सबै कम्प्युटरमा एउटै विंडोजको केही फाइल हुन्छ त्यसरी नै सबै कशेरुकी (Vertebrate) प्राणीहरुमा एसपी६/एसपी८ जस्ता केही फाइल सुरक्षित छन्। यो एउटा साझा आनुवंशिक कार्यक्रमको खोज हो।
२. यो एआईको सहयोगले भएको खोज पनि हो। वैज्ञानिकहरूले इन्हान्सर (enhancer) नामक डीएनएका स्विचहरू पत्ता लगाउन एआई प्रयोग गरे, जसले एसपी६/एसपी८ जीनलाई कहाँ सक्रिय गर्ने भनेर बताउँछ।
३. यो भविष्यको लागि एउटा बाटो हो।
के होइन ?
१. यो मान्छेको हात उमार्ने औषधी होइन। सोशल मिडियामा फैलिएका भ्रामक दाबीहरू—जस्तै 'एक्सोलोटलको पानी खाए हात उम्रिन्छ'—पूर्ण रूपमा गलत छन्।
२. यो एउटा जीनले हात उमार्छ भन्ने होइन। पूरा हात उमार्न सयौं जीन, सही क्रम, सही समय र ब्लास्टेमा जस्तो वातावरण चाहिन्छ। अहिले हामीसँग एउटा कारीगरको नाम मात्र छ, पूरा निर्माण टोली होइन।
३. यो अहिले मान्छेमा परीक्षण भएको छैन। यो मुसा र ल्याबको कथा हो।
६. दर्शन - शरीरले बिर्सियो, डीएनएले बिर्सेन
आयुर्वेदमा महर्षि सुश्रुतले घाउको रोपण - घाउलाई भर्ने, जोड्ने - बारेमा धेरै लेख्नुभएको छ। तर सुश्रुतले पनि दाग बिना पूरा अंग फेरि उमार्ने विद्या लेख्नुभएको छैन।
किन ? किनभने मान्छेको शरीरले विकासको क्रममा एउटा व्यापार गर्यो।
जंगलमा बाँच्न के चाहिन्छ ? छिटो घाउ बन्द हुनु। यदि हाम्रो पुर्खालाई बाघले टोक्यो र उसको शरीरले ३ महिना लगाएर नयाँ खुट्टा बनाउन थाल्यो भने, ऊ त्यो ३ महिनामा मर्छ। तर यदि शरीरले ३ दिनमा दाग लगाएर घाउ बन्द गर्यो भने, ऊ बाँच्छ, लंगडै भए पनि बाँच्छ।
त्यसैले मान्छेले गति रोज्यो, पुनर्निर्माण बिर्सियो। एक्सोलोटलले पानीमा सुरक्षित जीवन पाएकाले गति होइन, शुद्धता रोज्यो - दाग बिना, पूरा बनाउने विधि रोज्यो।
यो खोजले हामीलाई के सिकाउँछ भने, विकास भनेको सधैं नयाँ थप्नु मात्र होइन, पुरानो कुरा बचाउनु पनि हो। हाम्रो डीएनए एउटा ठूलो पुस्तकालय जस्तै हो, जहाँ हाम्रा पुर्खाले पढेका सबै किताब छन्, तर केही किताबमा धुलो लागेको छ, केहीको पाना बन्द छ। एसपी६/एसपी८ त्यही बन्द भएको किताब हो।
७. यस अनुसन्धानको उपयोगिता - कहाँ-कहाँ उज्यालो लाग्छ ?
अ. घाउ र हड्डीमा उज्यालो: मधुमेह भएका मान्छेको घाउ निको हुँदैन, हड्डी जोडिँदैन। यदि एसपी६/एसपी८ लाई स्थानीय रूपमा जगाउन सकियो भने, त्यस्ता घाउलाई निको पार्ने मलम वा इन्जेक्सन बन्न सक्छ।
आ. औंलाको टुप्पोमा उज्यालो: मुसाले आफ्नो औंलाको टुप्पो उमार्न सक्छ। यो नक्साले मान्छेको औंलाको टुप्पो उमार्ने सुरक्षित तरिका बनाउन सहयोग गर्छ।
इ. दाग बिना शल्यक्रियामा उज्यालो: एक्सोलोटलले दाग बिना निको पार्छ। यसको तरिका सिकेर, सिजेरियन वा ठूला शल्यक्रिया पछिको दाग कम गर्ने औषधी बन्न सक्छ।
ई. मुटु र स्पाइनल कर्डमा उज्यालो: एक्सोलोटलले मुटुको केही भाग पुनर्निर्माण गर्न सक्छ; ९० दिनभित्र हृदयको कार्य पुनर्स्थापित हुन्छ। मुटु पुनर्निर्माणमा मैक्रोफेज (macrophage) नामक प्रतिरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ; यी कोषहरू नहुँदा दाग बढ्छ र पुनर्निर्माण असफल हुन्छ। मैक्रोफेजका पनि एम१ र एम२ प्रकार हुन्छन्; एम२ प्रकारले पुनर्निर्माणलाई सहयोग गर्छ, जबकि एम१ प्रकारले सूजन बढाउँछ। 'एसपी' जीन परिवारको अध्ययनले हृदयाघात पछिको मुटुको मांसपेशी मर्मत गर्ने बाटो देखाउन सक्छ।
उ. सुरक्षित जीन थेरापीमा उज्यालो: पहिले जीन थेरापीमा एउटा डर थियो - जीन धेरै सक्रिय भयो भने क्यान्सर हुन्छ कि ? अब वैज्ञानिकहरू 'इन्हान्सर-डिरेक्टेड' (enhancer-directed) तरिका सोच्दैछन् - अर्थात् बत्तीको स्विच जस्तै, जीनलाई जहाँ चाहिन्छ त्यहीँ मात्र बाल्ने, सधैं बाल्ने होइन। यो धेरै सुरक्षित हुन्छ।
८. नैतिक कोण, तुलना र अझै थाहा पाउन बाँकी कुरा
नैतिक कोण: कल्पना गर्नुस्, भोलि यस्तो औषधी बन्यो जसले हात उमार्छ। त्यो औषधी कसले पाउने ? युद्धमा हात गुमाएको १९ वर्षको सिपाहीले ? कि अर्बपति व्यक्तिले ? यदि यो औषधी १ करोडको भयो भने, यो विज्ञानको जीत हुन्छ कि असमानताको जीत ? त्यसैले यो प्रविधि बन्नु भन्दा पहिला नै यसलाई सस्तो र सबैको पहुँचमा कसरी बनाउने भन्ने बहस सुरु गर्नुपर्छ।
तुलना - बोन र एक्सोलोटल: केही महिना अघि बोन विश्वविद्यालयले ८० वर्षको रगतको कोषलाई ल्याबमा जवान बनायो - एपिजेनेटिक (epigenetic) घडी पछाडि धकेल्यो। त्यो खोजले भन्यो - बुढो कोषको दाग मेट्न सकिन्छ। एक्सोलोटलको खोजले भन्छ—अंग बनाउने नक्सा जगाउन सकिन्छ। एउटाले उमेरको दाग मेट्छ, अर्कोले बनाउने विद्या जगाउँछ। दुवैको सपना एउटै हो - शरीरलाई आफैं निको बनाउने। एउटा रगतबाट दिमाग बनाउँछ, अर्को हातबाट फेरि हात बनाउँछ।
अझै के थाहा पाउन बाँकी छ ? १. एसपी६/एसपी८ मात्र पर्याप्त छैन। पूरा हात बनाउन 'डब्ल्यूएनटी' (Wnt) 'एफजीएफ' (FGF) 'बीएमपी' (BMP) जस्ता सयौं संकेत चाहिन्छ। तिनको अर्केस्ट्रा कसरी बजाउने ? २. मान्छेको दाग लगाउने प्रणाली 'फाइब्रोसिस' (fibrosis) धेरै बलियो छ। त्यसलाई कसरी रोक्ने र 'ब्लास्टेमा' जस्तो काँचो वातावरण कसरी बनाउने ? ३. सुरक्षा - यो जीनलाई जगाउँदा कतै क्यान्सर त बन्दैन ? यो प्रश्नको जवाफ वर्षौंको परीक्षणपछि मात्र आउँछ।
'डब्ल्यूएनटी', 'एफजीएफ', 'बीएमपी' के हुन् ?
यी कुनै जीनको नाम होइन, यी परिवार हुन् - अर्थात् एउटै काम गर्ने धेरै प्रोटिनहरूको समूह।
१. 'डब्ल्यूएनटी'- (Wingless + Int-1 वा अर्को नाम: Wingless-related integration site): यसलाई तपाईंले "बनाउ" भन्ने आदेश भनेर बुझ्नुस्। 'डब्ल्यूएनटी'ले कोषलाई भन्छ - "तिमी बढ, विभाजन होऊ, नयाँ कोष बनाऊ"। ब्लास्टेमामा डब्ल्यूएनटी धेरै सक्रिय हुन्छ, त्यसैले त्यहाँ कोषहरू छिटो बढ्छन्। यसको खोज प्रसंग पनि रमाइलो छ- सुरुमा फलफूलको झिंगामा (Drosophila) Wingless नामक जीन भेटियो र मुसामा Int-1 नामक जीन भेटियो, पछि दुवै एउटै परिवारको रहेछ भन्ने थाहा भएपछि दुवैलाई जोडेर 'डब्ल्यूएनटी' भनियो।
२. 'एफजीएफ' (Fibroblast Growth Factor): यसलाई "लामो बन" भन्ने आदेश भनेर बुझ्नुस्। 'एफजीएफ'ले भन्छ - "तिमी लम्बिनु पर्छ, हातको टुप्पोतिर बढ्नु पर्छ"। यदि 'एफजीएफ' रोकियो भने हात छोटो बन्छ, टुप्पो बन्दैन।
३. 'बीएमपी' (Bone Morphogenetic Protein): यसलाई "अब आकार लेऊ" भन्ने आदेश भनेर बुझ्नुस्। 'बीएमपी'ले भन्छ- "अब तिमी हड्डी बन, अब तिमी औंला छुट्टाउ"। हाम्रो हातमा पाँच औंला छुट्टिनुमा 'बीएमपी' कै भूमिका छ।
'डब्ल्यूएनटी' = माटो थप्ने काम 'एफजीएफ' = माटोलाई तानेर लामो बनाउने काम 'बीएमपी' = त्यसलाई दियो, गाग्रीको आकार दिने काम
एसपी६/एसपी८ भनेको यी तीनै कारीगरलाई बोलाउने ठेकेदार हो। ठेकेदार (एसपी६/एसपी८) आए पनि, काम गर्ने कारीगर ('डब्ल्यूएनटी' 'एफजीएफ', 'बीएमपी') आएनन् भने घर बन्दैन। त्यसैले पूरा हात बनाउन सयौं संकेतको अर्केस्ट्रा मिल्नुपर्छ।
९. अन्त्यमा - एउटा प्रश्न तपाईंकै लागि
एक्सोलोटल हेर्दा सधैं मुस्कुराइरहेको जस्तो देखिन्छ। हुनसक्छ, ऊ मुस्कुराउँछ किनभने ऊ जान्दछ - हरेक चोट अन्त्य होइन, नयाँ सुरुवात पनि हुन सक्छ।
हामी मान्छेले आफ्नो शरीरको घाउलाई त दाग लगाएर बिर्सन्छौं। तर मनको घाउलाई के गर्छौं ?
हामी आफ्नो मनको घाउलाई दाग बनाएर बोकिरहेका छौं कि, एक्सोलोटल जस्तै त्यसलाई काँचो माटो बनाएर केही नयाँ बनाउन सक्छौं कि?
शायद, हाम्रो डीएनएमा मात्र होइन, हाम्रो मनमा पनि त्यो पुरानो नक्सा अझै सुरक्षित छ।
लेखमा प्रयोग भएका मुख्य वैज्ञानिक शब्दहरू र तिनको अर्थ
-
कोशिका (Cell): शरीरको सबैभन्दा सानो जीवित इकाई। हाम्रो रक्त, छाला, हड्डी, मांसपेशी र मस्तिष्क सबै कोशिकाहरूबाट बनेका हुन्।
-
एक्सोलोटल (Axolotl): मेक्सिकोको सोचिमिल्को तालमा पाइने एउटा विशेष सैलामैंडर, जसले हात, खुट्टा, पुच्छर, मुटु जस्ता अंगहरू फेरि बनाउन सक्छ।
-
डिडिफरेन्सिएशन (Dedifferentiation): विशेष काम गर्ने कोशिका—जस्तै हड्डी वा मांसपेशीको कोशिका—ले आफ्नो पहिचान बिर्सेर फेरि काँचो, धेरै प्रकारका कोशिका बन्न सक्ने अवस्थामा फर्कने प्रक्रिया।
-
रिडिफरेन्सिएशन (Redifferentiation): काँचो कोशिकाले फेरि विशेष कोशिका—जस्तै हड्डी, मांसपेशी वा छालाको कोशिका—बन्ने प्रक्रिया।
-
विभेदन (Differentiation): साधारण कोशिकाले विशेष काम गर्ने कोशिका—जस्तै न्यूरोन वा रक्त कोशिका—बन्ने प्रक्रिया।
-
ब्लास्टेमा (Blastema): घाउको टुप्पोमा जम्मा हुने काँचो कोशिकाहरूको समूह, जसले नयाँ हात वा अंग बनाउँछ।
-
वाउन्ड एपिडर्मिस (Wound Epidermis): घाउको सतहमा बन्ने विशेष छाला, जसले घाउ ढाक्छ र पुनर्निर्माण सुरु गर्छ।
-
एपिकल एपिथेलियल क्याप (AEC): घाउको टुप्पोमा बन्ने विशेष संरचना, जसले ब्लास्टेमालाई वृद्धि र आकार दिने संकेत पठाउँछ।
-
पोजिशनल मेमोरी (Positional Memory): कोशिकाले आफ्नो मूल स्थान—अगाडि/पछाडि, माथि/तल, नजिक/टाढा—सम्झने क्षमता। यसले नयाँ अंगमा कुन भाग कता बन्ने निर्धारण गर्छ।
-
सुपरन्यूमरी लिम्ब (Supernumerary Limb): शरीरमा असामान्य रूपमा थपिने अतिरिक्त हात वा खुट्टा; एक्सोलोटलका प्रयोगमा यो बनाइन्छ।
-
हैंड२ (Hand2): एक्सोलोटलको हातको पछाडिको भागमा सक्रिय हुने जीन, जसले पोजिशनल मेमोरी कायम राख्छ।
-
एसपी६ (SP6): घाउ निको हुँदा सक्रिय हुने महत्वपूर्ण ट्रांसक्रिप्शन फैक्टर; यसले अरू जीनहरूलाई नियन्त्रण गर्छ।
-
एसपी८ (SP8): एक्सोलोटलको हात पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने ट्रांसक्रिप्शन फैक्टर; यो नहुँदा हात ठीकसँग बन्दैन।
-
ट्रांसक्रिप्शन फैक्टर (Transcription Factor): कोशिकाभित्रका जीनहरूलाई "खोल्ने" वा "बन्द गर्ने" निर्देशन दिने प्रोटीन। यसले कोशिकालाई के बन्ने भन्ने आदेश दिन्छ।
-
जीन (Gene): डीएनएको त्यो भाग, जसले कुनै प्रोटीन वा शरीरको विशेषता बनाउने निर्देशन दिन्छ।
-
डीएनए (DNA): शरीरको आनुवंशिक निर्देशिका; यसमा हामी कस्तो देखिने, कुन कोशिका के बन्ने भन्ने जानकारी हुन्छ।
-
क्रिस्पर (CRISPR): जीनलाई सटीक रूपमा सम्पादन गर्ने प्रविधि; यसले कुनै जीनलाई हटाउन, जोड्न वा परिवर्तन गर्न सक्छ।
-
इन्हान्सर (Enhancer): डीएनएको त्यो भाग, जसले कुन जीन कहाँ र कहिले सक्रिय हुन्छ भन्ने नियन्त्रण गर्छ; यसलाई "जीनको स्विच" पनि भन्न सकिन्छ।
-
इन्हान्सर-डिरेक्टेड (Enhancer-Directed): कुनै जीनलाई आवश्यक ठाउँमा मात्र सक्रिय गर्ने विधि; सधैं सक्रिय राख्ने होइन।
-
डब्ल्यूएनटी (Wnt): कोशिकालाई बढ्न, विभाजन हुन र नयाँ कोशिका बनाउन आदेश दिने संकेत परिवार। ब्लास्टेमामा यो धेरै सक्रिय हुन्छ।
-
एफजीएफ (FGF): Fibroblast Growth Factor; कोशिकालाई लामो बन्न र अंगको टुप्पोतिर बढ्न आदेश दिने संकेत परिवार।
-
बीएमपी (BMP): Bone Morphogenetic Protein; कोशिकालाई हड्डी बन्न, आकार लिन र औंला छुट्टिन आदेश दिने संकेत परिवार।
-
मैक्रोफेज (Macrophage): प्रतिरक्षा प्रणालीको कोशिका, जसले मृत कोशिका हटाउँछ, संक्रमण रोक्छ र पुनर्निर्माणमा मद्दत गर्छ।
-
एम१ मैक्रोफेज (M1 Macrophage): सूजन बढाउने प्रकारको मैक्रोफेज; संक्रमण रोक्न मद्दत गर्छ।
-
एम२ मैक्रोफेज (M2 Macrophage): पुनर्निर्माण र घाउ निको पार्न मद्दत गर्ने प्रकारको मैक्रोफेज।
-
फाइब्रोसिस (Fibrosis): घाउमा दाग बनाउने प्रक्रिया; मानवमा यो बलियो हुन्छ, एक्सोलोटलमा कम।
-
नियोटेनी (Neoteny): वयस्क भइसकेपछि पनि बाल्यकालका केही विशेषता कायम राख्ने जैविक अवस्था; एक्सोलोटल यसको उदाहरण हो।
-
भर्टिब्रेट (Vertebrate): ढाडको हाड भएका प्राणीहरू; जस्तै मानिस, मुसा, माछा, सर्प, चरा।
-
एम्ब्रियो (Embryo): गर्भाधानपछिको प्रारम्भिक विकास अवस्था।
-
जीन थेरापी (Gene Therapy): कुनै रोगको उपचारका लागि जीनलाई थप्ने, हटाउने वा परिवर्तन गर्ने चिकित्सकीय विधि।