नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दीर्घ राजनीतिक जीवनलाई स्वच्छ र भ्रष्टाचारमुक्त भएको दाबी गर्दै आफू राष्ट्रिय मुद्दामा अडिग उभिएकै कारण चौतर्फी आक्रमणको लक्ष्य बनेको बताएका छन्।

झापामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले ६० वर्षको राजनीतिक यात्रामा न आफू कमिसनमा संलग्न भएको र न भ्रष्टाचार गरेको दाबी गरे। देशको विकास, सुरक्षा र जनहितका पक्षमा काम गर्दा विरोध र लाञ्छना खेप्नुपरेको उनको भनाइ थियो।

आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउने पहल, उत्तरी नाका खुलाउने प्रयास तथा हुलाकी राजमार्ग निर्माणमार्फत मधेसको अर्थतन्त्र सुदृढ बनाउने काम भएको उनले स्मरण गराए। यिनै कदमले केही आन्तरिक र बाह्य शक्तिलाई असहज बनाएको उनको संकेत थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहतर्फ संकेत गर्दै ओलीले एउटा पालिका सञ्चालन गर्न असफल भएकालाई देशको नेतृत्व सुम्पन नसकिने टिप्पणी गरे। देश कुनै प्रयोगशाला नभएको उल्लेख गर्दै उनले अनुभवी र सक्षम शक्तिलाई छाडेर अपरिचित वा असफल तत्वलाई रोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।

ADVERTISEMENT Xtreme - Inside

देशमा सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र तीव्र विकासका लागि स्पष्ट भिजन, नीति र कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो। एमालेसँग दीर्घकालीन सोच र कार्यान्वयन क्षमता रहेको उनले दाबी गरे।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा एमाले रहुन्जेल सुरक्षित रहने दाबी गर्दै उनले देशको एक–एक इन्च भूमिको रक्षा गरिने प्रतिबद्धता दोहोर्‍याए।

अन्त्यमा उनले मतदातालाई अलमलमा नपर्न आग्रह गर्दै सुरु गरिएका विकास र सुधार अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।