इरान, खाडी राष्ट्र तथा पश्चिम एशियाली संकटहरूमा आफूलाई “मध्यस्थ शक्ति” का रूपमा प्रस्तुत गर्न खोजिरहेको पाकिस्तानमाथि अन्तर्राष्ट्रिय अविश्वास बढ्दै गएको विश्लेषण सार्वजनिक भएका छन्। विभिन्न अन्तर्राष्ट्रिय लेख तथा सुरक्षा विश्लेषणहरूले पाकिस्तानले वास्तविक समाधानभन्दा बढी “सन्तुलनको राजनीति” गर्दै सबै पक्षलाई खुशी पार्ने रणनीति अपनाएको आरोप लगाएका छन्।

विशेषगरी पाकिस्तानले एकातर्फ साउदी अरब, चीन तथा अमेरिका जस्ता शक्तिहरूसँग सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको छ भने अर्कोतर्फ इरानसँग पनि कूटनीतिक निकटता देखाउन खोजिरहेको छ। तर विश्लेषकहरूका अनुसार यस्तो “बहुआयामिक सन्तुलन” दीर्घकालीन रूपमा अस्थिर बन्दन् सक्ने जोखिम बढ्दै गएको छ।

हालै पाकिस्तानमाथि साउदी अरेबियासँग गोप्य रक्षा सम्झौता गरेको आरोपसमेत लागेको छ। केही रिपोर्टहरूका अनुसार पाकिस्तानले सैनिक तथा सुरक्षा सहकार्य विस्तार गर्दै खाडी क्षेत्रको शक्ति राजनीतिमा आफ्नो भूमिका बलियो बनाउन खोजिरहेको छ। यसले इरानसँगको सम्बन्धमा थप जटिलता ल्याउन सक्ने विश्लेषण गरिएको छ।

ADVERTISEMENT Nepal Aaja Register

अर्कोतर्फ पाकिस्तानभित्रकै आर्थिक, राजनीतिक तथा सुरक्षा संकटले उसको अन्तर्राष्ट्रिय विश्वसनीयतामाथि प्रश्न उठाइरहेको छ। मुद्रास्फीति, बेरोजगारी, चरमपन्थी हिंसा तथा कमजोर अर्थतन्त्रका कारण पाकिस्तान अहिले आन्तरिक अस्थिरतासँग जुधिरहेको छ। यस्ता परिस्थितिमा पाकिस्तानले क्षेत्रीय मध्यस्थकर्ताको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न कठिन हुने विश्लेषकहरूको भनाइ छ।

विशेषगरी आतंकवाद तथा चरमपन्थी समूहहरूसँग सम्बन्धित पुराना आरोपहरूका कारण पश्चिमी राष्ट्रहरू पाकिस्तानप्रति पूर्ण रूपमा विश्वस्त हुन नसकेको बताइएको छ। केही अमेरिकी तथा युरोपेली विश्लेषकहरूले इरान वा मध्यपूर्व संकटमा पाकिस्तानको मध्यस्थ भूमिकालाई “अविश्वसनीय” भन्दै आलोचना गरेका छन्।

भूराजनीतिक रूपमा हेर्दा पाकिस्तान अहिले चीन, खाडी राष्ट्र, अमेरिका तथा इस्लामिक विश्वबीच आफ्नो प्रभाव कायम राख्ने प्रयासमा देखिन्छ। तर विशेषज्ञहरूका अनुसार स्पष्ट रणनीतिक दिशा अभाव र घरेलु संकटका कारण पाकिस्तानको कूटनीतिक भूमिका कमजोर बन्दै गएको संकेत देखिएको छ।