प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसदलाई मुलुकको राजनीतिक संस्कार र संस्कृतिको पहिचान दिने थलोको रूपमा चित्रण गर्नुभएको छ। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले लोकतन्त्र र राष्ट्रिय सार्वभौमिकताको रक्षाका निम्ति संसद र सभामुखले अभिभावकीय र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

विभिन्न राजनीतिक विचारधाराको संगमस्थल भएकाले सदनमा मतभेद र तिक्तता देखिनुलाई उहाँले स्वाभाविक प्रक्रिया मान्नुभएको छ। यद्यपि, आपसी घर्षण र छलफलबाट निस्कने निष्कर्ष नै लोकतन्त्रको वास्तविक सौन्दर्य भएको उहाँको भनाइ छ। केसीले संसदलाई वाद, प्रतिवाद र संवादको साझा मञ्चका रूपमा परिभाषित गर्नुभयो।

सभामुखको निर्वाचन नहुँदासम्म सदन सञ्चालनको जिम्मेवारी सम्हाल्नुभएका केसीले आफू पूर्ण रूपमा तटस्थ रहने प्रतिवद्धता जनाउनुभएको छ। हालै सम्पन्न सर्वदलीय बैठकमा सबै दलहरू सदनलाई निर्विघ्न र प्रभावकारी रूपमा अगाडि बढाउन सहमत देखिएकाले आगामी बैठकहरू विवादरहित हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।

सरकार सञ्चालनका सन्दर्भमा उहाँले संख्यात्मक शक्तिको खेलभन्दा पनि जनताको स्वाभिमान, विकास र समृद्धिलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिनुभयो। सरकारका असल कार्यमा सहयोग गर्नु र कमजोरीमा रचनात्मक आलोचना गर्नु नै लोकतन्त्रको मर्म भएको उल्लेख गर्दै उहाँले संविधानको रक्षा र जनताको सर्वोच्चतालाई सर्वोपरी ठान्नुपर्ने बताउनुभयो।

मुलुकको वर्तमान अवस्थामा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण नै मुख्य चुनौती रहेको उहाँको ठम्याइ छ। नीतिगत तहमा हुने भ्रष्टाचार अन्त्यका लागि कानुनी विधिको पालना अनिवार्य रहेको भन्दै केसीले आग्रह वा पूर्वाग्रहका आधारमा गरिने कारबाहीले विधिहीनता निम्त्याउन सक्ने तर्फ सचेत गराउनुभयो।

प्रतिनिधि सभाको आजको बैठक ज्येष्ठ सदस्यको हैसियतले केसीले नै सञ्चालन गर्नुहुनेछ। उहाँले नयाँ सभामुख चयन नहुँदासम्म संसदीय गरिमालाई उच्च राख्दै आफ्नो भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभएको छ।