बालेन्द्र (बालेन) शाहले रामनवमीको पवित्र दिन देशको प्रधानमन्त्रीका रूपमा शपथ लिँदा, धेरै नागरिकले देशमा अब 'रामराज्य' आउने अपेक्षा गरेका थिए। जेन्जी (Gen-Z) आन्दोलनको बलमा स्थापित यो नयाँ नेतृत्वबाट जनताले सुशासन र परिपक्वताको आश गर्नु स्वाभाविकै थियो। तर, सत्ताको केन्द्रमा पुगेपछि प्रधानमन्त्री बालेनमा देखिएको 'जिद्दीपन' र 'एकलौटीपन' ले रामराज्यको त्यो अपेक्षामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

बाल्यकालको जिद्दीपन प्रायः निश्छल हुन्छ, तर जब त्यही जिद्दीपनले सत्ता र शक्तिको स्वरूप लिन्छ, त्यसले देशलाई कता लैजान्छ? यो आज नेपाली राजनीतिको पेचिलो प्रश्न बनेको छ।

१. जिद्दीपनका दुई दृष्टान्त: बालकृष्णको 'चन्द्र' मोह र युवा हठ

पौराणिक कथाअनुसार, एक साँझ पूर्णचन्द्र उदायो। आकाशमा चम्किलो चन्द्रमा देखेर बालक कृष्णले माता यशोदासँग जिद्दी गर्दै भने— "मैया, मलाई त्यो चम्किलो खेलौना चाहिन्छ।" आमाले त्यो धेरै टाढा भएको र समात्न नसकिने भनेर सम्झाउँदा पनि कृष्ण मानेनन्। बरु, "चन्द्रमा नपाएसम्म न दूध पिउँछु, न सुत्छु" भनेर भुइँमा पछारिन थाले। अन्ततः माता यशोदाले एउटा ठुलो थालमा पानी राखेर त्यसमा चन्द्रमाको छायाँ देखाइन् र कृष्णलाई फकाइन्। यो एउटा 'बालहठ' थियो, जसलाई आमाको प्रेमपूर्ण बुद्धिका कारण सजिलै शान्त पारिएको थियो।

अर्कोतर्फ, करिब दुई दशकअघि गायक प्रकाश पौडेलले गाएको "आमा मलाई त्यही केटी चाहिन्छ" बोलको गीतले नेपाली समाजमा विद्यमान युवा जिद्दीपनको अर्को रूपलाई चित्रण गर्छ। माया र प्रेममा पर्दा एउटा युवाले आफ्नो चाहना पूरा गर्न देखाउने हठ यस गीतको मूल विषय हो। तर, अहिले देशले भोगिरहेको जिद्दीपन न बालकृष्णको जस्तो निश्छल छ, न त कुनै युवाको प्रेमिल हठ जस्तो। यो त विशुद्ध राजनीतिक 'इगो' र शक्तिको हठ बनेको छ।

२. प्रधानमन्त्री बालेनका राजनीतिक 'हठ' का शृङ्खला

राजनीतिक मैदानमा बालेनका पछिल्ला कदमहरूले 'जिद्दीपन' लाई नयाँ उचाइमा पुर्याएका छन्। सतहमा नदेखिएका अनेकौँ भित्री हठहरू त होलान् नै, तर सार्वजनिक रूपमै देखिएका केही प्रमुख उदाहरण यस्ता छन्:

●     सिंहदरबारको आगजनी र धम्की: तत्कालीन काठमाडौँको मेयर हुँदा आफ्नी श्रीमती चढेको गाडी ट्राफिक चेकिङमा पर्दा उनले 'सिंहदरबार जलाउने' धम्की दिएका थिए। पछि जेन्जी आन्दोलनको समयमा अन्ततः सिंहदरबारमा आगजनी भयो। कतिपय आलोचकहरूले यो घटनालाई बालेनको त्यही पुरानो रिस र योजनासँग जोडेर हेर्ने गरेका छन्।

●     डोजर आतंक र सुकुम्बासी बस्ती: मेयर हुँदा सुकुम्बासी बस्ती हटाउन आक्रामक बनेका बालेन प्रधानमन्त्री बनेपछि झनै कठोर बने। उनले राज्यशक्तिको प्रयोग गर्दै डोजर आतंक नै मच्चाए, जसका कारण ठुलो जनमानस आज उनीविरुद्ध आन्दोलित छ।

    सत्तामा निरङ्कुश अभ्यास: सहयात्री रवि लामिछानेलाई बाइपास गरेर एकलौटी सरकार बनाउनु, उपसभामुखलाई एकलौटी समर्थन गर्नु, प्रधानन्यायाधीशमा एकलौटी सिफारिस गर्नु र अध्यादेशमार्फत एकलौटी निर्णयहरू पेस गर्नुले उनको राजनीतिक एकाधिकारवादलाई प्रस्ट पार्छ। भर्खरै अध्यादेश ल्याएर पुराना नियमले नियुक्ति भएका पदाधिकारीलाई हटाउने उनको कदम पनि चरम विवादको घेरामा छ।

ADVERTISEMENT Nepal Aaja Register

३. पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँगको 'इगो' टकराव

जिद्दीपनको यो रोग बालेनमा मात्र सीमित छैन। जेन्जी आन्दोलनपछि सङ्क्रमणकालीन सरकारको नेतृत्व गरेकी पूर्वप्रधानमन्त्री सुशीला कार्कीको व्यवहारमा पनि यही अपरिपक्वता देखिन्छ। कुनै बेला बालेनलाई 'छोरा' समान मान्ने कार्की अहिले उनीदेखि रुष्ट छिन्। "बालेनसँग न्यायालयको ज्ञान छैन," भन्दै हिँड्ने कार्कीलाई पत्रकारले 'आमा' भनेर सम्बोधन गर्दा उनको जवाफ थियो— "तिमीहरूको आमा परिवर्तन भइसकेको छ, बालेन्द्रको श्रीमतीलाई आमा भन्नु।"

बालेन्द्रलाई छोरा मान्दा उनकी श्रीमती स्वतः बुहारी हुनुपर्ने हो। बालेनसँगको राजनीतिक रिसमा बिचमा श्रीमतीलाई तान्नु र सासू-बुहारीको जस्तो पारिवारिक झगडालाई मिडियाबाजी गर्नुले न्यायालयको सर्वोच्च पद र प्रधानमन्त्री जस्तो गरिमामय पद सम्हालिसकेकी व्यक्तिको जिद्दीपनलाई उजागर गर्छ। यस्ता विषयमा मौन बस्नु नै नेतृत्वको शोभा हुन्थ्यो।

४. 'ग्रेटर नेपाल' देखि राष्ट्रपति निर्वाचनसम्मको जोखिम

बालेनको हठ यतिमै रोकिने छाँटकाँट छैन। उनका केही कदमले देशको भू-राजनीतिक सन्तुलनमै गम्भीर प्रश्न उब्जाएका छन्:

●     कूटनीतिक अपरिपक्वता: मेयर हुँदा उनले आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल' को नक्सा राखे। तर, उक्त नक्सामा उत्तरतर्फ चीनले अतिक्रमण गरेको भूमि उल्लेख नगरी पूर्व, पश्चिम र दक्षिण (भारततर्फ) को भूमि मात्र समावेश गरियो। प्रधानमन्त्री भइसकेपछि यो विषयमा उनको आधिकारिक धारणा के हो? सीमामा १०० रुपैयाँभन्दा बढीको सामान ल्याउन नपाइने कडा नियम र जाँचपास/MRP को नाममा उनले आफ्नै देशलाई अघोषित 'नाकाबन्दी' लगाएको चर्चा छ। के यसले भारतसँग नयाँ द्वन्द्व निम्त्याउने सङ्केत गर्दैन र?

●     आगामी राष्ट्रपति निर्वाचन: विश्लेषकहरूका अनुसार, अब हुने राष्ट्रपतिको निर्वाचनमा पनि बालेनको यही 'मेरो गोरुको बाह्रै टक्का' भन्ने जिद्दीपन देखिने निश्चितप्राय: छ।

निष्कर्ष: कस्तो हो बालेनको जिद्दीपन?

माता यशोदाले पानीको थालमा चन्द्रमा देखाएर बालकृष्णको जिद्दी त शान्त पारिन्, तर प्रधानमन्त्री बालेन शाहको यो राजनीतिक जिद्दीपनलाई शान्त पार्ने 'यशोदा' र 'पानीको थाल' वर्तमान राजनीतिमा को बन्ला? एकातिर पुराना पुस्ताका नेताहरूको 'इगो', अर्कोतिर युवा प्रधानमन्त्रीको एकलौटी हठ।

बालेनको यो जिद्दीपन कस्तो हो? के यो बालकृष्णको जस्तो निश्छल र देश बनाउने 'चन्द्रमोह' हो, कि गायक प्रकाश पौडेलको गीतमा जस्तो जे पर्ला पर्ला 'त्यही केटी (सत्ता/शक्ति) चाहिन्छ' भन्ने उन्माद हो? रामराज्यको सपना बुनेका नागरिकलाई बालेनको यो जिद्दीले कहाँ पुर्याउने हो, यसको सटिक जवाफ भने आगामी समयले नै दिनेछ।