प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलले आफ्ना लोकप्रिय एयरपड्समा क्यामेरा जडान गर्ने तयारी गरिरहेको छ। ब्लूमबर्गका मार्क गुरम्यानका अनुसार, एप्पलका कर्मचारीहरूले हाल यस्ता प्रोटोटाइप उपकरणहरूको आन्तरिक परीक्षण गरिरहेका छन् जसले प्रयोगकर्ताको वरपरको वातावरण बुझ्न मद्दत गर्नेछ।

यी क्यामेराहरू फोटो खिच्न वा भिडियो रेकर्ड गर्नका लागि नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई डेटा उपलब्ध गराउन डिजाइन गरिएको बताइएको छ। यस प्रविधिले गर्दा एयरपड्सले प्रयोगकर्ताले के देखिरहेका छन् भन्ने कुराको न्यून-रिजोल्युसन तस्बिर संकलन गरी सिरीलाई जानकारी दिनेछ।

यो नयाँ विशेषताले सिरीलाई अझै चलाख बनाउने अपेक्षा गरिएको छ। उदाहरणका लागि, पसलमा सामान किन्दा सूची सम्झाउने वा बाटो देखाउन मद्दत गर्ने जस्ता कार्यहरू यी क्यामेराको मद्दतले सम्भव हुनेछन्। एप्पलको आगामी आईओएस २७ मा यस्ता भिजुअल इन्टेलिजेन्स सुविधाहरू देखिन सक्छन्।

गोपनीयताको सुरक्षाका लागि क्यामेरा चलिरहेको बेला प्रयोगकर्तालाई जानकारी दिन एउटा विशेष सूचक (इन्डिकेटर) पनि राखिनेछ। यद्यपि, सबै मानिसहरू यो प्रविधिप्रति उत्साहित छैनन्। केही विज्ञहरूले अडियो उपकरणमा क्यामेराको आवश्यकतामाथि प्रश्न उठाएका छन्।

बजार विश्लेषकहरूका अनुसार यी स्मार्ट क्यामेरायुक्त एयरपड्स यसै वर्षको अन्त्य वा अर्को वर्षसम्ममा सार्वजनिक हुन सक्छन्। यसलाई एप्पलको एआई प्रविधिलाई दैनिक जीवनमा अझै सहज बनाउने प्रयासको रूपमा हेरिएको छ।