काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वसांसद तथा फोब्स सूचीकृत नेपालका एकमात्र डलर अर्बपती विनोद चौधरीको सिजी ग्रुपले नेपाली उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलाँची गरेको पुष्टि भएको छ । कुनै समय चाउचाउ भनेकै वाईवाई र वाईवाई भनेकै चाउचाउ भन्ने साम्राज्य खडा गरेको यो ब्रान्ड अहिले सरकारी प्रयोगशालाकै परीक्षणमा न्यून गुणस्तर अर्थात् अखाद्य ठहरिएको छ । देशमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै सुरु भएको खाद्य सुरक्षाको कडा निगरानी र पछिल्लो समय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सक्रियताले अर्बपतीको यो चरम लापरबाही बाहिर ल्याएको हो।

विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सिजी फुड्स इन्टरप्राइजेज प्रालि, बाँसगढी–३ बर्दियाद्वारा उत्पादित वाईवाईसहित चारवटा लोकप्रिय ब्रान्डका चाउचाउहरू विभागको निरीक्षण र प्रयोगशाला परीक्षणमा फेल भएका छन्। विभागले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने ती ब्याचका चाउचाउहरू तत्काल बजारबाट फिर्ता गर्न र बिक्री वितरण नगर्न निर्देशन दिएको छ। विभागको आधिकारिक निर्णय अनुसार गुणस्तरहीन ठहरिएका उत्पादनहरूमा मुख्य गरी वाईवाईको ब्याच नम्बर बी/बीएम१-एक्स-२०२६-०५-१४ (उत्पादन मिति: २०२६/०५/१४) रहेको छ। यसका साथै अन्य उत्पादनहरू गोलमोलको ब्याच नम्बर बी/बीएम२ डी, २०८३.०१.११, प्रिमियम पिरोको ब्याच नम्बर बी/बीएम२ सी, २०८३.०१.२८ र मामा चाउचाउको ब्याच नम्बर बी/बीएम१-एक्स-२०२६-०५-१३ पनि अखाद्य प्रमाणित भएका छन्।

https://youtube.com/shorts/RyJIciIEryo?si=oAE1nUsVUpMt9CJK 

सोझा नेपाली जनताले आँखा चिम्लेर उपभोग गर्ने वाईवाई ब्रान्डमा यति ठुलो कैफियत भेटिनुले डलर अर्बपतीको जनस्वास्थ्यप्रतिको गैरजिम्मेवार र हेपाहा प्रवृत्तिलाई छर्लङ्ग पारेको छ। चाखलाग्दो कुरा त के छ भने, केही समयअघि एउटा टेलिभिजन शोमा अर्बपती विनोद चौधरीका छोरा निर्वाण चौधरीले स्वयम् आफ्नै उद्योगको उत्पादन वाईवाई खान अस्वीकार गरेका थिए, जसले यसको गुणस्तरमा उद्योगी परिवार आफैँ सशङ्कित रहेको सङ्केत गर्छ। चौधरी ग्रुपको वाईवाईमाथि देखिएको यो लापरबाही पहिलो भने होइन। यसअघि बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख अर्थात् मेयर हुँदा पनि महानगरले २०८१ वैशाख १२ गते वाईवाई चाउचाउलाई दण्डित गरेको थियो। त्यतिबेला महानगरपालिकाको नेतृत्वमा गरिएको गुणस्तर परीक्षणमा अत्यधिक एसिड भ्यालु फेला पारेपछि २ लाख रुपैयाँ जरिवाना गराइएको थियो। बारम्बार गल्ती दोहोर्‍याएर जनतालाई अखाद्य वस्तु खुवाउनु उद्योगको न्यूनतम व्यावसायिक नैतिकता विपरीत हो।

विभागले प्रयोगशालाको रिपोर्टका आधारमा उक्त ब्याचका चाउचाउहरू मानव स्वास्थ्यका लागि अखाद्य रहेको भन्दै कानुनी कारबाही अघि बढाएको छ। ती ब्याचका चाउचाउहरू खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) विपरीत न्यूनस्तरको पाइएकाले सोही ऐनको दफा ३८ को उपदफा (४) बमोजिम तत्काल बिक्री वितरणमा रोक लगाउँदै बजारबाट सम्पूर्ण स्टक जफत गरी फिर्ता लैजान आदेश जारी गरिएको छ। पैसा र पहुँचको बलमा नेपालीको भान्सामा अखाद्य वस्तु पठाउने डलर अर्बपतीको यो कृत्यमाथि अब प्रधानमन्त्री बालेन्द्र शाहको सरकार र सम्बन्धित विभागले कस्तो थप कानुनी सजाय अघि बढाउँछ, त्यो भने हेर्न बाँकी छ । उपभोक्ता हित र स्वास्थ्यका सवालमा नेपालआज डटकम निरन्तर निगरानी गरिरहनेछ।