सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नुभएको छ। उहाँसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि टोलीमा सहभागी हुनुहुन्छ।

हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनुभएको छ। बाढीलगत्तै उहाँले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आउनुभएको छ।

ADVERTISEMENT Nepal Aaja Register

बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्रीले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनेछ।

साथै, टोलीले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग तत्काल राहत, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ। यस निरीक्षण भ्रमणले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ।