नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न आन्तरिक र बाह्य शक्तिहरूले योजनाबद्ध षड्यन्त्र बुनिरहेको बताउनुभएको छ। आइतबार काठमाडौँमा आयोजित २६ औँ निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यो चुनौतीलाई नजरअन्दाज गर्नु श्रमजीवी जनताका लागि घातक हुने चेतावनी दिनुभयो।

प्रचण्डले कम्युनिस्ट पार्टीहरूले पहिले आफ्ना कमजोरीहरूलाई आत्मसमीक्षा गरी सच्याउनुपर्नेमा जोड दिनुभएको छ। उहाँका अनुसार घेराबन्दी तोड्नका लागि छरिएका कम्युनिस्ट शक्तिहरू एकीकृत हुनुको विकल्प छैन। सोही अवसरमा उहाँले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई सम्पूर्ण कम्युनिस्ट आन्दोलनलाई जोड्न अभिभावकीय भूमिका खेल्न विशेष आग्रह समेत गर्नुभयो।

ADVERTISEMENT Nepal Aaja Register

मुलुकको राष्ट्रिय स्वाधीनता अहिले गम्भीर सङ्कटमा रहेको प्रचण्डको विश्लेषण छ। विशेष गरी पछिल्ला युवा आन्दोलन र भदौ महिनामा विकास भएका राजनीतिक घटनाक्रमले देशको सार्वभौमिकतालाई जोखिममा पारेको उहाँले जिकिर गर्नुभयो। यद्यपि, यिनै चुनौतीका बीच देशभरबाट देशभक्त र वामपन्थीहरू मिल्नुपर्ने एउटा सकारात्मक आधार तयार भएको उहाँको बुझाइ छ।

वर्तमान सरकारमाथि प्रहार गर्दै पूर्वप्रधानमन्त्री दाहालले अहिलेको शासन सत्ताले गरिब र निमुखा जनतालाई सबैभन्दा बढी दुःख दिएको आरोप लगाउनुभयो। श्रमजीवी वर्गमाथि प्रहार भइरहेकाले कम्युनिस्टहरू आफ्नो वर्गीय अडानमा दृढ हुनुपर्ने उहाँले बताउनुभयो। जनताको भरोसा अझै पनि कम्युनिस्ट शक्तिमाथि नै रहेकाले नेतृत्वले जनचाहना अनुसार एकताको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ।