नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लामो सङ्घर्षबाट प्राप्त जनअधिकारमाथि प्रहार भए सदन र सडक दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) द्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले रचनात्मक काम गरे सहयोग गर्ने तर संविधान र राष्ट्रिय हितमा आँच पुर्याए कडा आन्दोलन छेड्ने बताउनुभयो।
विशेषगरी कर्मचारी ट्रेड युनियन र विद्यार्थीका अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै दाहालले यसप्रति शतर्क रहन सबैलाई आह्वान गर्नुभयो। संविधान संशोधनका सन्दर्भमा उहाँले अधिकार कटौती गर्न नभई महिला, दलित र उत्पीडित वर्गको हक थप्न तथा संघीयतालाई बलियो बनाउनका लागि मात्रै आफ्नो दलले सहयोग गर्ने प्रष्ट पार्नुभयो। हालैको निर्वाचन परिणामलाई 'असामान्य' संज्ञा दिँदै उहाँले यसको गम्भीर समीक्षा भइरहेको जानकारी दिनुभयो।
पार्टीको आन्तरिक व्यवस्थापनका बारेमा बोल्दै दाहालले केही दिनभित्रै स्थानीय तहसम्मको एकीकरण प्रक्रिया टुङ्ग्याउने र ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिवद्धता दोहोर्याउनुभयो। उहाँले निर्वाचनमा हारजित हुनु स्वाभाविक भए पनि लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै मुख्य कार्यभार भएको बताउनुभयो। १२ बुँदे समझदारी र शान्ति प्रक्रियाका सहयात्री शक्तिहरूसँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले कार्यकर्तालाई उच्च मनोबलका साथ जनताको बीचमा जान निर्देशन दिनुभएको छ।