सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा एउटा नयाँ र गर्विलो पाना थपिएको छ। संगठनमा आवद्ध दुई महिला कर्मचारीले आज मे १७ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर एउटा नयाँ कीर्तिमान कायम गरेका छन्।

सशस्त्र प्रहरी बलका अनुसार सहायक हवल्दार अनिता कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। सशस्त्र प्रहरी बलको तर्फबाट सर्वोच्च शिखर पुग्ने उनीहरू पहिलो महिला आरोही बनेका छन्।

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका, माबुमा जन्मिएकी सहायक निरीक्षक निम डिक्की शेर्पालाई यस साहसिक यात्रामा मार्गदर्शकका रूपमा शेर्पा निमा साङ्गे शेर्पाले सहयोग गरेका थिए। हिमाली क्षेत्रको भूगोलमा उनको राम्रो दख्खल रहेको छ।

ADVERTISEMENT Nepal Aaja Register

त्यस्तै, रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी अर्की सफल आरोही अनिता कार्की राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडी समेत हुन्। उनलाई सगरमाथाको शिखरसम्म पुर्‍याउने अभियानमा टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा विशेष दक्षता हासिल गरेका यी दुवै आरोहीहरूले यसअघि नै मनाङ जिल्लामा अवस्थित चुलु फार इष्ट हिमाल र लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका थिए। पुरानो अनुभवले उनीहरूलाई सगरमाथा चढ्न थप मद्दत पुगेको देखिन्छ।

यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिलाहरूको सहभागिता, उनीहरूको क्षमता र नेतृत्वदायी भूमिकालाई अझ बढी प्रेरित र उत्साहित बनाउने विश्वास गरिएको छ। यो सफलताले सम्पूर्ण नेपाली महिलाहरूको साहसलाई विश्वसामु पुनः प्रमाणित गरिदिएको छ।