तिब्बततर्फबाट बहने ल्हेन्दे खोलामा आएको आकस्मिक बाढी भोटेकोशीमा मिसिँदा रसुवाको उत्तरी सीमावर्ती क्षेत्रमा ठूलो विनाश भएको छ। बुधबार बिहान आएको तीव्र बहावले टिमुरे, स्याफ्रुबेंसी र मैलुङ क्षेत्रका बजार तथा बस्तीहरूमा ठूलो क्षति पुर्‍याएको छ।

यस प्राकृतिक विपत्तिमा परि हालसम्म ७२ जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ताले पुष्टि गरेका छन्। बाढीको तीव्र बहावले बगाएका शवहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय इलाकाहरूमा फेला परेका हुन्।

सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकायहरू बाढीबाट गम्भीर रूपमा प्रभावित भएका छन्। नेपाली सेनाका ४४ जना अधिकारी, इन्स्पेक्टर अम्विर खत्रीको नेतृत्वमा खटिएका सशस्त्र प्रहरीका ९ जना र नेपाल प्रहरीका करिब ३० जना कर्मचारी हालसम्म सम्पर्कविहीन रहेका छन्।

ADVERTISEMENT Nepal Aaja Register

सडक सञ्जाल विच्छेद भएपछि बाढी प्रभावित क्षेत्रमा व्यापक हवाई उद्धार कार्य सञ्चालन गरिएको छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरूले ४९ पटक उडान भरी ११४ भन्दा बढी सर्वसाधारण तथा घाइतेहरूको उद्धार गरी काठमाडौँलगायत सुरक्षित स्थानमा पहुँचाएका छन्।

सीमापारिबाट उत्पन्न यस विपत्तिपछि नेपाल र चीनका मौसम विज्ञान निकायबीच आपत्कालीन छलफल भएको छ। दुवै देशका अधिकारीहरूले सीमापार जल उत्पन्न जोखिम कम गर्न मौसमी विवरणहरू वास्तविक समयमा आदानप्रदान गर्ने सहमति गरेका छन्।