काठमाडौँ । प्राकृतिक विपद्का कारण सेवा अवरुद्ध हुनुका साथै प्रभावित क्षेत्रमा निःशुल्क सेवा उपलब्ध गराउँदा पनि नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधिमा खुद मुनाफा ३७.३५ प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण (Unaudited) अनुसार समीक्षा अवधिमा खुद मुनाफा गत आवको सोही अवधिको तुलनामा ४९ करोड ४९ लाख रुपैयाँले वृद्धि भई १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पुगेको हो। गत आवको प्रथम त्रैमासमा कम्पनीको खुद मुनाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको थियो।

मुनाफामा देखिएको उल्लेख्य सुधारमा खुद खर्चमा आएको कमीले मुख्य भूमिका खेलेको छ। चालु आवमा तलब स्केल वृद्धिका कारण कर्मचारी खर्च बढे पनि ह्रास खर्चमा कमी आउनुका साथै मूल्यह्रास क्षति फिर्ता समायोजन (Impairment Reversal) भएकाले खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको छ। यससँगै कर अघिको मुनाफा गत वर्षको २ अर्ब ८८ करोड २१ लाख रुपैयाँबाट ३.६५ प्रतिशत (१० करोड ५२ लाख रुपैयाँ) ले बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी (Annualized EPS) ४० रुपैयाँ ४५ पैसा कायम भएको छ।

आय विवरणतर्फ चालु आवको प्रथम त्रैमासमा कुल आय गत वर्षको ९ अर्ब ४७ करोड १० लाख रुपैयाँको तुलनामा ०.०७ प्रतिशत अर्थात् ६६ लाख ४६ हजार रुपैयाँले बढेर ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ, जुन विवरणमा उल्लेखित गत आवको ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको तुलनामा १२ लाख ६० हजार रुपैयाँ (०.०१ प्रतिशत) ले बढी भएको जनाइएको छ। यद्यपि, ब्याज, कर, ह्रास तथा परिशोधन अघिको आम्दानी (EBITDA) भने गत वर्षको ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँको तुलनामा ६.१३ प्रतिशत (२९ करोड १४ लाख रुपैयाँ) ले घटेर ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा भोटेकोशी र बुढीगण्डकीमा आएका बाढीपहिरोले सेवा बिक्री राजस्वमा प्रतिकूल असर पारेको कम्पनीले जनाएको छ। भाद्र १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण दूरसञ्चार सेवा र व्यावसायिक गतिविधि अवरुद्ध हुँदा टेलिकमले प्रभावित सेवाग्राहीलाई १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा प्रदान गरेको थियो। यसका साथै असोज २५ गतेको बुढीगण्डकी बाढीले समेत सेवा सञ्चालनमा नकारात्मक प्रभाव पारेको थियो।

विपद्का बाबजुद कम मूल्य तथा ठूला मोबाइल डेटा प्याकेजको बढ्दो प्रयोगले कार्य सञ्चालन राजस्वलाई टेवा पुर्‍याएको छ। कार्य सञ्चालन राजस्वतर्फ जीएसएम (GSM) सेवामा १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच (FTTH) सेवामा ४ करोड ४० लाख रुपैयाँले वृद्धि भएको छ। आगामी दिनमा पनि बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा सेवा विस्तार एवं गुणस्तर सुधारको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिने कम्पनीले स्पष्ट पारेको छ।