रुद्र गणका प्रमुख कमल सापकोटा (लाम्बु सरकार) ले रूपन्देही–२ केन्द्रित चुनावी बहसमा निर्वाचन प्रक्रिया “अलिकति हतारिएको” देखिने आफ्नो व्यक्तिगत दृष्टिकोण रहेको बताएका छन्। उनले अन्तर्वार्तामा आयोगहरू समयमै नबनेको, राष्ट्रिय सहमतिबिना सरकार चुनावतर्फ जानु आफ्नो बुझाइमा “राइट डिसिजन हैन” भने।
सापकोटाले कार्की आयोगसँग सम्बन्धित विषय उठाउँदै, चुनावअघि प्रतिवेदन नआए उम्मेदवारहरूबारे निर्णयहरू पछि गएर आएमा जनताप्रति अन्याय हुनसक्ने आशंका व्यक्त गरे। उनका अनुसार चुनाव जितेर पठाइएको व्यक्ति भोलि उम्मेदवारी खारेजी हुने अवस्थासम्म कारबाहीमा परे त्यसले मतदातालाई असर गर्ने तर्क उनले गरे।
अन्तर्वार्तामा सापकोटाले स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आफूहरू स्पष्ट रूपमा समर्थन गरिरहेको बताए। उनले जेन–जी आन्दोलनलाई “नजिकबाट आत्मसाथ” गरेको व्यक्ति डा. भुसाल नै भएको दाबी गर्दै, स्थानीय संकटमा स्वास्थ्य क्षेत्रमा गरेको काम, सामाजिक क्रियाशीलता र स्थानीय उपस्थितिलाई समर्थनको आधार बताए। उनले काठमाडौँका “दुई–चार जना” चिनेकै आधारमा यहाँको नेता बन्न नहुने धारणा पनि व्यक्त गरे।
स्थापित नेताहरूबारे बोल्दै सापकोटाले पूर्व अर्थमन्त्री विष्णु पौडेलको रूपन्देहीमा भएको भौतिक विकासमा योगदान नकार्न नसकिने बताए। उनले “रूपन्देही रूपन्देही हुन विष्णु पौडेलको योगदान हो” भन्दै कृतज्ञता व्यक्त गरे पनि, अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने तर्क गर्दै सम्मानपूर्वक अलग हुने सुझाव दिए।
मत गणनाबारे उनले रूपन्देही–२ मा १ लाख ३५ हजार ५० मतदाता रहेको भन्दै आफ्नो पक्षले करिब २० हजार मतको दायरामा ल्याउन सक्ने पूर्वानुमान सुनाए। उनले सामाजिक सञ्जालका संकेतलाई निर्णायक नमान्ने तर्क गर्दै भने, “फेसबुकका लाइक र कमेन्ट मात्र गन्ने हो भने त उहाहरुले खर्लपै खानुहुन्छ, तर बाक्सा भित्र खसेका भोटै गन्ने हो भने चाहिँ हामी उहा भन्दा धेरै भारी छौ।”
अन्य उम्मेदवारबारे सापकोटाले रास्वपाका सुलभ खरेलसँग सम्बन्ध राम्रो रहेको बताए पनि नेतृत्व क्षमताबारे आफ्नो “फिल” फरक रहेको धारणा राखे। साथै, उनले “घन्टी” पक्षले संघीयताबारे धारणा बदलिरहेको भन्दै आफूहरू भीडको लहरभन्दा “क्याल्कुलेसन” र “रिसर्च” आधारमा संघीयताको विरोधमा रहेको बताए।
सापकोटाले रुद्र गणलाई गैरनाफामुखी धार्मिक संस्था भन्दै मन्दिर, थान तथा तन्त्र–झाँक्री परम्पराको संरक्षण–संवर्धन र पुस्तान्तरणलाई उद्देश्य बताए। उनले आफ्नो मुख्य एजेन्डा “नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ” रहेको पनि अन्तर्वार्तामा बताएका छन्।
एमआरआरसम्बन्धी प्रश्नमा उनले एमआरआर सामाजिक काममा सक्रिय रहेको भन्दै, टोलीकै रूपमा राजनीति “प्रयोग” नहुने दाबी गरे। तर उनले “एमआरआर प्रयोग भयो भने एमआरआरले चुनाव ढाल्दिन सक्छ” भन्दै त्यसमा पर्याप्त “स्ट्रेन्थ” रहेको दाबीसमेत गरे।