गत हप्ता एक जना बिरामी साथीलाई भेट्न उनकै घरमा पुगेको थिएँ। गेटको घन्टी बजाएँ। बिरामी आफैँ तल गेट खोल्न आइपुग्नुभयो। "अरे तपाईं आफैँ किन? आज आइतबार बाबु-नानी छैनन् र?" भन्दै भित्र पसें। उसै त बिरामी अनुहार, त्यो प्रश्नले उहाँलाई झनै नैराश्यता बनाएको भाव उहाँको सुस्केराबाट नै स्पष्ट हुन्थ्यो। बाबु-नानीहरू मोबाइलमा व्यस्त थिए। उहाँले नजिकै गएर "हेर त अंकल आउनुभएको छ" भनेर कोट्याएर नमस्कार गर्न लगाउनुभयो। आफैँ पानी ल्याएर दिनुभयो। "मैडमको पनि प्राइभेट जागिर, आज बिदा छैन क्यारे। खोइ, यिनको ताल यस्तै छ, आफू बिरामी..." भन्दै रोकिनुभयो। उहाँलाई आफ्नो पेटको अल्सरभन्दा पनि अहिलेका बालबालिकाको मोबाइलको लत र व्यावहारिक ज्ञानको अभाव अल्सर बिग्रेर क्यान्सर जस्तै होला कि भन्ने चिन्ता थियो।
त्यस्तै गरी बिहानीको हिँडाइबाट फर्किँदा काँठतिरबाट ल्याएका हरियो मकै, सागपात बेच्ने एकजना बहिनीकहाँ सधैँजसो किन्ने गर्थें। एक दिन बहिनीको छोरा पनि संगै देखें। बाबुको हात भाँच्चिएर प्लास्टर गरेको थियो। बिहानै झिसमिसेमा गाउँतिरबाट अर्गानिक रैथाने तरकारीहरू बटुलेर ल्याउने अनि कोठामा आई छोरालाई स्कुल पठाएर नजिकैको चोकमा ल्याई बेच्ने, त्यसपछि दिउँसोको समयमा प्रिन्टिङ कारखानामा ज्यालादारी मजदुरी गर्ने दैनिकी रहेछ, बहिनीको। आइतबार आयो कि उहाँलाई बच्चाको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता हुन्थ्यो। कहिले काममा संगै लान्थिन् तर बच्चालाई पछ्यौराले पीठ्युँमा बाँधेर काम गर्नु पर्थ्यो कि त कोठामै उसको लागि दिउँसोको खाजा र ट्वाइलेटको लागि पट राखिदिएर बाहिरबाट साँचो लगाएर छोड्नु पर्थ्यो। एक दिन पल्लो कोठाका छिमेकीलाई यसो ख्याल गरिदिनुहोला भनेर गएकी, बेलुका आउँदा छोराको त्यो गति। बच्चा खेल्दै बाटोतिर निस्किएछ, सोही बेला बाइकले टक्कर दिएछ।
"यस्तै हामी त आफैँ बाहिरै भयौँ, नेपालमा बाबु, आमा र छोराछोरी मात्र छन्। हाम्रो घरमा इलेक्ट्रिक वायरिङमा समस्या भएर हो कि किन हो, इलेक्ट्रिसियनले बारम्बार कहिले के बिग्रियो भन्छ, कहिले के भयो भन्छ, पैसा लगेको लग्यै नै छ यार" भनेर अस्ति मात्र विदेशमा रहेको साथीले मलाई दुःखेसो पोख्दै थियो। यी तीन घटना हामी आम अभिभावकले कुनै न कुनै रूपमा भोगिरहेकै छौँ। अझ विद्यालयमा शिक्षक अभिभावक भेलाका दिन कोही-कोही अभिभावक, शिक्षकहरूले सुनाउनुभएका घटना सुन्दा त आङ नै सिरिङ्ग हुने खालका छन्। आजभोलिका बाबुनानीहरू अचाक्ली उत्तेजित र आक्रामक भएर घटना घटाएका हुन् या कोही पूर्णरूपमा एकान्त प्रेमीले निम्त्याएका जोखिम या डिजिटल प्लेटफर्म (Digital Platform) का लत र भरले थपेका चिन्ता र चुनौती सुन्दा कहाली लाग्दा थिए।
नेपालमा सरकारले आइतबार पनि बिदा दिन थालेपछि अहिले विद्यालयका बालबालिकाहरू पनि आइतबार घरमै बस्न बाध्य छन्। विश्वका अन्य देशहरूको तुलनामा सार्वजनिक बिदा धेरै भएको सूचीमा रहेको र आफैँमा विकासोन्मुख नेपाल जस्तो देशका लागि हप्तामा दुई दिनको सार्वजनिक बिदा आवश्यक थियो या थिएन, यसको प्रभाव र प्रतिफलको अनुसन्धान नै नगरी सरकारले हतारमा घोषणा गर्यो। भले सरकारले तत्कालीन पेट्रोलियम पदार्थको हाहाकारले निम्त्याएको समस्या टार्न गरिएको भए तापनि अहिले यसले निरन्तरता पाइरहेको छ। आइतबारको सार्वजनिक बिदाको आवश्यकता थियो कि नाइँ भन्दा पनि अब विद्यालयले कसरी यसको सदुपयोग गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको छ। आइतबार विद्यालय खोलेर जीवन उपयोगी व्यावहारिक सीप र शिक्षाका कक्षा चलाउन उपयुक्त हुनेछ।
यसो गर्दा शिक्षक-शिक्षिकाले पाउने बिदाको समानताको कुरा उठ्न सक्छ तर निजामती संस्थाका कर्मचारीको भन्दा शिक्षक-शिक्षिकाको पेसा अलि फरक छ। विद्यालयमा हुने हिउँदे बिदा, वर्षे बिदा र हरेक परीक्षा सकिएपछि दिइने बिदा आदिले शिक्षक-शिक्षिकाको बिदामा समायोजन भएको हुन्छ। मूलभूत रूपमा शिक्षक-शिक्षिका आफैँमा सम्मानित पेसा हो, जसको श्रमको मूल्य र प्रतिफललाई न त तलब न त कुनै सेवा सुविधाले परिपूर्ति गर्न सकिन्छ। विकसित देशहरूमा दिइने दुई दिन बिदा सबैलाई हुन्छ अर्थात् सरकारीदेखि निजी क्षेत्रसम्म, भले पार्ट टाइम या जागिरअनुसार जागिरेहरूले आफ्नो घरायसी व्यवस्थापन गर्दछन्, अझ बालबालिकाको हेरचाह, मनोविज्ञान बुझेर गर्नुपर्ने व्यवहार र बाल अधिकारका विषयमा त धेरै अगाडि छन्। हाम्रोमा भने दुई दिन बिदा सरकारी, संस्थान र केही कर्पोरेट अफिसहरूबाहेक अधिकांश निजी क्षेत्रका कार्यालय र स्वरोजगारहरूलाई अनिवार्य छैन। अहिले हाम्रा बालबालिकाहरूलाई हामीले १२ कक्षासम्म मात्र पढ्नुमा जोड दिइरहेका छौँ। त्यसपछि सिधै विदेश जाने होड चलेको छ। व्यावहारिक ज्ञान, शिक्षा र सीपको अभावमा त्यहाँ उनीहरूले पाएको दुःख, हन्डर, टक्करले अप्रिय घटनाहरू बढ्दै गएका छन्। जुन हामीले यदाकदा सुनेका र समाचारमा पढेका भन्दा कयौँ गुणा बढी त्यहाँ दैनिक भोग्नु परेको समस्याको तथ्याङ्क छ।
यसका साथसाथै यहाँ पनि दैनिक जीवनमा चाहिने व्यावहारिक र सीपमूलक तालिमको आवश्यकता उस्तै छ। कहिलेकाहीँ एकै पटक दुई-तीनवटा विद्युतीय सामग्रीहरू जस्तै इन्डक्सन, पानी तताउने कित्ली या आइरन चलाइयो भने आफ्नो घर या बस्ने फ्ल्याटको एमसीबी वा फ्युज झरेको हुन्छ। त्यसलाई केवल तल झरेको एमसीबी वा फ्युजलाई माथि सार्ने मात्र काम हो। यसलाई हामी एउटा पिलास या पेचकसको सहायताले एक-दुई मिनेटमै गर्न सक्छौँ। सामान्य तालिम र सावधानीले यो काम आफैँ गर्न सकिन्छ तर हामी सानो प्राविधिक ज्ञानको कमीले इलेक्ट्रिसियन गुहार्छौँ र हजार-पन्ध्र सय दिएर पठाउँछौँ। त्यस्तै कुनै दिन केही कारणवश बाथरुम वा ट्वाइलेट जाम भयो भने हामीले तातो पानी र कास्टिक सोडा राखिदिएमा यो स्वतः खुल्छ। केही चिज अड्केर या केही चीजले टालिएर जाम भएको हुन सक्छ तर हामी हत्त न पत्त प्लम्बर गुहार्छौँ। उसले पनि आखिर ठूलै समस्या भएको रहेनछ भने गर्ने पहिलो काम यही नै हो। यतिका लागि दुई-तीन सयले हुने काम हामीले दुई-तीन हजार खर्चिएका हुन्छौँ। सामान्य, उध्रिएका कपडा सिलाउन टेलरिङमा दिनुपर्ने महँगो ज्याला हामी थोरै लगानी र छोटो तालिम लिएर घरमै गर्न सक्छौँ। यसले पैसा मात्र बचत हुँदैन, सीप र आत्मनिर्भरताको पनि विकास भइरहेको हुन्छ। सानातिना घरायसी औषधि उपचार तथा प्राथमिक उपचारको ज्ञानको अभावमा ठूलै घटनाहरू घटेका हामीले देखेका, सुनेका छौँ। अझ हाम्रो जस्तो भूकम्पीय, बाढी-पहिरो जस्ता आपत्-विपत्तिका उच्च जोखिम भएको देशमा त सतर्कतादेखि प्रारम्भिक रूपमा चाहिने र गरिने प्रयोगात्मक शिक्षा र अभ्यासको निकै आवश्यकता देखिन्छ।
यस अन्तर्गत कृषि तथा पशुपालन, इलेक्ट्रिसियन तथा प्लम्बिङ, ड्राइभिङ तथा सवारी साधन मर्मत, घडी, मोबाइल तथा कम्प्युटर मर्मत, सिलाई-बुनाई, खाना पकाउने तथा पोषण (Cooking & Nutrition), सञ्चार तथा सार्वजनिक वक्तृत्व (Communication & Public Speaking), नेतृत्व तथा समूहकार्य (Leadership & Teamwork), समय तथा तनाव व्यवस्थापन (Time & Stress Management) जस्ता व्यावहारिक र प्रयोगात्मक शिक्षा दिन सकिन्छ। साथै विद्यार्थीलाई महिनाको एक दिन किताब रहित (Bagless Day) वा झोला रहित (Bookfree Day) मनाउने र सो दिन उनीहरूलाई श्रमको क्षेत्रमा लगाउन सकिन्छ भने सो काम हेरेर आन्तरिक मूल्याङ्कनमा अङ्क दिने व्यवस्था गर्नुपर्दछ। हालको विद्यालय शिक्षाको पाठ्यक्रम धेरै बोझिलो (Overloaded) छ। हालको १०२४ कार्यघण्टालाई केही घरायसी कामका लागि छुट्ट्याउने र उनीहरूले गरेको व्यावहारिक कार्यलाई मूल्याङ्कनको आधार बनाएर नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई बोली/व्यवहार, जीवनोपयोगी सीपको शिक्षा र प्रयोगात्मक गरी तीन चरण गरेर सरकारले शिक्षा क्षेत्रमा यो आइतबारको बिदालाई सदुपयोग गर्न उपयुक्त देखिन्छ। शिक्षा केवल किताबी कोरा ज्ञान मात्र होइन यो त बालबालिकाहरूमा सीप, संस्कार र असल आचरण निर्माणको महत्त्वपूर्ण आधार हो। तसर्थ विद्यालयको तल्लो तहदेखि व्यवहारकुशल सीपहरु (life skills), माध्यमिक तहमा पुग्दा शिक्षासँगै सीप (Skill in Education) र उच्च शिक्षामा विश्वव्यापी मूल्यसँग तादात्म्य, अभ्यास र अनुकूलन गर्दै विश्व नागरिक (Global citizenship) तयार गर्नेतर्फ केन्द्रित भई सोही अनुरूप छुट्टै व्यावहारिक पाठ्यक्रम विकास गर्नुपर्दछ। — शङ्कर पाण्डे 'मुक्ति' (Email: [email protected])