नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गत निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई 'स्वइङ भोट' को संज्ञा दिँदै मतदाताले पार्टी नछोडेको दाबी गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले मतदाताले केवल मत फेरेको तर आस्था नत्यागेको जिकिर गर्नुभयो। उहाँले यो 'स्वइङ' लाई स्थायी 'सिफ्ट' हुन नदिनु नै अबको मुख्य चुनौती रहेको बताउनुभयो।

संसदमा कांग्रेसको उपस्थिति कमजोर हुनुको पछाडि जनताको बदलिँदो चाहना र नयाँ राजनीतिक 'हावाहुरी' लाई नेतृत्वले ठम्याउन नसक्नु मुख्य कारण रहेको उहाँले स्वीकार गर्नुभयो। कोइरालाले अबको राजनीतिक प्रतिस्पर्धा वामपन्थी शक्तिहरूसँग मात्र नभई 'लिबरल डेमोक्रेट्स' हरूसँग हुने भएकाले संगठनलाई नयाँ ढंगले बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

पार्टीको आन्तरिक विवाद र विशेष अधिवेशनको सन्दर्भमा बोल्दै कोइरालाले आफूले सुरुदेखि नै केन्द्रीय समितिको निर्णयमार्फत विशेष अधिवेशनमा जानुपर्ने अडान राखेको स्मरण गराउनुभयो। गगन थापा सभापति चयन भएको विशेष अधिवेशनको वैधानिकताका बारेमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अझै किनारा लाग्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो। यद्यपि, कानुनी प्रक्रिया जे भए पनि पार्टीलाई अन्त्यसम्म एकताबद्ध राख्न आफू सक्रिय रहने उहाँको भनाइ थियो।

आफू कुनै पनि गुट वा उपगुटमा नरहेको स्पष्ट पार्दै डा. कोइरालाले सामाजिक सञ्जाल र पार्टीभित्र हुने आलोचनाबाट आफू विचलित नहुने बताउनुभयो। उहाँले आफ्नो एकमात्र लक्ष्य आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई फेरि पहिलो पार्टीको रूपमा स्थापित गर्नु रहेको उल्लेख गर्दै सबै पक्षलाई संवादमार्फत पार्टीलाई एकढिक्का बनाउन आग्रह गर्नुभयो। बीपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जली दिन पनि पार्टी एकता अनिवार्य रहेको उहाँको तर्क थियो।