काठमाडौं उपत्यकाका सुकुम्वासी बस्तीमा डोजर प्रयोग गरिएको विषयलाई लिएर अखिल नेपाल सुकुम्वासी संघले कडा आपत्ति जनाएको छ।

संघले पत्रकार सम्मेलनमार्फत सुकुम्वासी बस्तीमा भइरहेको डोजर प्रयोग तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ। संघका अनुसार राज्यले भूमीहीन र अव्यवस्थित बसोवासी समस्याको समाधान गर्नुपर्नेमा उल्टै विभिन्न स्थानमा बस्ती हटाउने कार्य भइरहेको छ।

संघका इन्चार्ज नरेन्द्र खड्काका अनुसार चैत ९ गते काठमाडौंको टोखा नगरपालिका वडा ७ धापासीस्थित बस्तीका १८ घरमा डोजर चलाइएको छ। यसअघि सिफल र भक्तपुरका बस्तीमा पनि यस्तै कार्य गरिएको उहाँले जानकारी दिनुभयो।

उहाँले वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै सुकुम्वासी बस्तीमा डोजर चलाउने आवश्यकता के हो भन्ने प्रश्न उठाउनुभयो। साथै सरकार गठन प्रक्रियामा संलग्न दलहरूको मौनताप्रति पनि उहाँले आपत्ति जनाउनुभयो।

संघका नेता प्रकाश खरेलले सुकुम्वासीलाई अतिक्रमणकारीको रूपमा चित्रित गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो। वर्षौंदेखि सरकारी वा ऐलानी जग्गामा बसोवास गरिरहेका नागरिकलाई व्यवस्थापन गर्नुपर्नेमा डोजर प्रयोग गरिएको उहाँको भनाइ छ।

धापासीका पीडित दलबहादुर खड्काले सूचना दिएर छलफलका लागि बोलाइएको अवस्थामा एक्कासी बस्तीमा डोजर चलाइएको आरोप लगाउनुभयो। उहाँले २०६० सालदेखि उक्त स्थानमा बसोवास गर्दै आएको र भूमी आयोगमा निवेदनसमेत दिएको जानकारी दिनुभयो।

संघले डोजर प्रयोग तत्काल रोक्न, भूमिसुधार लागू गर्न, कानूनी संशोधन गर्न र भूमीहीनलाई लालपूर्जा वितरण प्रक्रिया तीव्र बनाउन माग गरेको छ।

यो घटनाले शहरी व्यवस्थापन र भूमीहीन समुदायको अधिकारबीच सन्तुलन कायम गर्ने चुनौतीलाई पुनः उजागर गरेको छ।