नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक समीकरणमा नयाँ मोड देखिएको छ। कोइराला परिवारका दुई प्रभावशाली नेता डा. शशांक कोइराला र डा. शेखर कोइराला इतर पक्षमा उभिरहँदा नेतृ सुजाता कोइरालाले भने पार्टी सभापति गगन थापाको नेतृत्वलाई स्पष्ट समर्थन जनाएकी छिन्।
शुक्रबार आयोजित कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै नेतृ कोइरालाले वर्तमान समयमा युवा पुस्ताको आकर्षण गगन थापाप्रति बढेको भन्दै पार्टीको बागडोर युवा नेताहरूकै हातमा हुनुपर्ने धारणा राखिन्।
सुरुवाती चरणमा आफूले थापाको कार्यशैलीप्रति पूर्ण विश्वास नगरेको स्वीकार गर्दै उनले पछिल्लो समय सबैलाई मिलाएर लैजाने प्रयासले आफ्नो विश्वास जितेको बताइन्। पार्टीलाई कमजोर बनाउने आन्तरिक खेल भइरहेको दाबी गर्दै उनले यस्ता षड्यन्त्र विफल पार्न एकता महाधिवेशन आवश्यक रहेको उल्लेख गरिन्।
पार्टीमा एकताको वातावरण बनाउन दुवै पक्ष लचक हुनुपर्नेमा जोड दिँदै उनले समर्पण मात्र एकताको विकल्प हुन नसक्ने बताइन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई लक्षित गर्दै उनले केवल मौखिक प्रतिबद्धतामा सीमित नरहेर सहमति र सहकार्यका लागि व्यावहारिक कदम चाल्न आग्रह गरिन्।
आगामी निर्वाचनमा सफलता हासिल गर्न पार्टीभित्र पूर्ण एकता अपरिहार्य रहेको औंल्याउँदै नेतृ कोइरालाले इतर समूहलाई पनि थापाको नेतृत्व स्वीकार गरेर एकताबद्ध भई अघि बढ्न अपिल गरिन्।