बुटवल: निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही–२ का उम्मेदवार सुलभ खरेल एकपछि अर्को विवादको भुमरीमा फसेका छन्। अदालतको मानमर्दनदेखि सहकारी पीडितलाई बेवास्ता गरेको आरोप खेपिरहेका खरेल, चुनावको मुखैमा आफ्नो घोषणापत्रका कारण लोकप्रिय फेसबुक समूह 'एमआरआर बुटवल' (MRR Butwal) सँगको नयाँ टकरावमा तानिएका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
'एमआरआर' को नाम भोटका लागि प्रयोग, संस्थाको कडा आपत्ति
पछिल्लो समय खरेलले आफ्नो चुनावी घोषणापत्रमा "MRR Butwal लाई भजन–कीर्तन गर्नका लागि स्रोत तथा पूर्वाधार उपलब्ध गराउने" भन्दै पपुलिस्ट एजेन्डा समावेश गरेका थिए। तर, विशुद्ध सामाजिक समूहलाई राजनीतिक लेप लगाउन खोजेको भन्दै एमआरआर बुटवलले यसप्रति कडा आपत्ति जनाएको छ।
संस्थासँग आबद्ध एक सदस्यले आक्रोश पोख्दै भने, "MRR Butwal को नामलाई भोटका लागि प्रयोग गर्नु कुनै पनि हालतमा ठिक होइन।" यस विषयमा न्युज पोर्टल 'नेपाल आज' ले खरेलसँग पटक-पटक प्रतिक्रिया लिन खोज्दा उनी पन्छिँदै आएका छन्। विवादबारे स्पष्ट पार्नुको सट्टा उनले "यस विषयमा कुनै हालतमा नबोल्ने" अडान राखेपछि उनीमाथि नैतिक दबाब झनै बढेको छ।

को हुन् सुलभ खरेल? सोभिता गौतम कनेक्सनदेखि रविको बचाउसम्म
अमेरिकाबाट कानुन अध्ययन गरेर फर्किएका भनिएका अधिवक्ता खरेल, रास्वपा सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको निरन्तर र खरो बचाउ गर्दै आएका व्यक्ति हुन्।
राजनीतिमा नयाँ भए पनि उनले रूपन्देही–२ जस्तो महत्त्वपूर्ण क्षेत्रको टिकट कसरी पाए भन्ने विषय आफैंमा रहस्यमय थियो। तर पार्टीभित्रको चर्चा अनुसार, रास्वपाकी प्रभावशाली नेतृ सोभिता गौतमसँगको निकट सम्बन्ध (साथी) भएकै कारण उनले यो टिकट हात पार्न सफल भएका हुन्।
सुलभ खरेललाई नछाडेका ४ पुराना र गम्भीर विवादहरू:
घोषणापत्रको यो नयाँ विवादबाहेक उनीमाथि लागेका शृङ्खलाबद्ध आरोपहरू यस्ता छन्:
१. मध्यरातमा ‘टिकट हाइज्याक’
रास्वपाले सुरुमा बालेन्द्र शाह (बालेन) निकट मानिएका आशिष सुवेदीलाई उम्मेदवार बनाएर बुटवल पठाएको थियो। तर, सुवेदीले चुनाव प्रचारप्रसार थालेकै रात सुलभ खरेलले 'पावर' लगाएर रातारात आधिकारिक टिकट खोसे। यसरी टिकट 'हाइज्याक' गरेपछि स्थानीय कार्यकर्ता दुई चिरामा विभाजित छन्।
२. बालेन शाहको 'बाइकट' र असहयोग
रास्वपामा भर्खरै प्रवेश गरेका बालेन्द्र शाह (बालेन) ले सुलभ खरेललाई चुनावमा पूर्ण रूपमा असहयोग गरेको चर्चा छ। बालेनले बुटवल पुगेर अन्य उम्मेदवारलाई आफ्नै गाडीमा हालेर क्षेत्र घुमाए पनि खरेललाई वास्तै गरेनन्। अहिले बालेन गुट नै खरेललाई चुनाव हराउन भित्रभित्रै लागिपरेको आरोप छ।
३. सुप्रिम सहकारी पीडितप्रति चरम असंवेदनशीलता
बुटवलको सुप्रिम सहकारीमा हजारौं बचतकर्ताको करिब ७८ करोड ५० लाख रुपैयाँ अपचलन भएको छ। घरदैलोका क्रममा पीडितहरूले घेरेर स्पष्ट धारणा माग्दा खरेलले "चुनावका बेला यस्ता कुरा भइरहन्छन्, यो मेरो सरोकारको विषय होइन" भन्दै पन्छिएका थिए। एकातिर रविको सहकारी प्रकरणको बचाउ गर्ने र अर्कोतिर आफ्नै क्षेत्रका पीडितलाई बेवास्ता गर्ने उनको रवैयाले मतदाता रुष्ट छन्।
४. अदालतको मानमर्दन र इजलासमै बेहोस भएको घटना
सर्वोच्च अदालत र बार परिसरमा आगजनी हुँदा उनले फेसबुकमा लेखेका थिए— "न्यायालय जल्दा मेरो मन एक रत्ती रोएन, त्यहाँ म शेरबहादुर र केपी ओलीका अनुहार देख्छु, यी न्यायाधीशहरू संवैधानिक चोर हुन्।" पछि त्यही अदालतको संवैधानिक इजलासमा बहस गर्न जाँदा, न्यायाधीशहरूले सोही स्टाटसलाई लिएर र्याखर्याख्ती पारेपछि उनी दबाब सहन नसकेर इजलासमै ढलेका (बेहोस भएका) थिए।
निष्कर्ष:
"सुशासन" र "नयाँ राजनीति" को नारा लिएर आएको दलका उम्मेदवार नै धार्मिक/सामाजिक संस्थाको नाम दुरुपयोग गर्नेदेखि लिएर अदालतको मानमर्दन र सहकारी पीडितको अपमानजस्ता शृङ्खलाबद्ध विवादमा तानिएपछि रूपन्देही-२ को निर्वाचन निकै पेचिलो बनेको छ।