पश्चिम बंगालको अत्यन्तै चर्चामा रहेको भवानीपुर विधानसभा क्षेत्रमा भारतीय जनता पार्टी (बीजेपी) का उम्मेदवार सुवेन्दु अधिकारीले मुख्यमन्त्री ममता बनर्जीलाई पराजित गरेका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार अधिकारीले बनर्जीलाई १५,१०५ मतको अन्तरले पछि पार्दै जित हासिल गरेका हुन्।
यो चुनावी प्रतिस्पर्धा दुवै नेताका लागि प्रतिष्ठाको विषय बनेको थियो। मतगणना अवधिभर दुवै पक्षका शीर्ष नेताहरूको उपस्थिति रहेको लर्ड सिन्हा रोडस्थित साखावत मेमोरियल गभर्नमेन्ट गर्ल्स हाई स्कुलमा दिनभर राजनीतिक सरगर्मी उच्च रह्यो। द हिन्दूका अनुसार, मुख्यमन्त्री बनर्जी दिउँसो मतगणना स्थल पुग्दा चुनावी वातावरण थप तनावपूर्ण बनेको थियो।
निर्वाचन परिणामको घोषणा भइरहँदा तृणमूल कांग्रेस (टीएमसी) ले प्रक्रियामा धाँधली भएको आरोप लगाएको छ। पार्टीले आफ्नो एक मतगणना एजेन्टलाई जबरजस्ती केन्द्र बाहिर निकालिएको दाबी गर्दै सुरक्षा र निष्पक्षतामा प्रश्न उठाएको छ।
तनावपूर्ण र विवादित प्रक्रियाका बाबजुद अधिकारीको जितले बंगालको राजनीतिमा नयाँ समीकरणको संकेत गरेको छ। आफ्नो गढ मानिने क्षेत्रमा पराजय भोगेपछि अब ममता बनर्जी र उनको दलले भावी रणनीतिका लागि गम्भीर समीक्षा गर्नुपर्ने स्थिति देखिएको छ।