अमेरिका र इजरायल सम्मिलित गठबन्धनले इरानविरुद्ध सुरु गरेको सैन्य अभियानले विश्वव्यापी ऊर्जा बजारमा गम्भीर सङ्कट ल्याउनुका साथै ठूलो मानवीय त्रासदी निम्त्याएको छ। ढुवानीमा आएको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य करिब ४० प्रतिशतले अकासिएपछि विश्व अर्थतन्त्रलाई जोगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा अन्तर्राष्ट्रिय नौसेना परिचालन गर्न विश्वका प्रमुख राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ।
शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायत जस्ता राष्ट्रहरूलाई यस क्षेत्रमा आफ्ना युद्धपोत पठाएर सामरिक समुद्री मार्ग खुला राख्न आह्वान गर्नुभएको हो। सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने यस जलडमरूमध्य अहिले इरानी आक्रमणको उच्च जोखिममा छ।
फेब्रुअरी २८ बाट सुरु भएको यस युद्धमा पेन्टागनका अनुसार अमेरिका र इजरायलले इरानभित्र १५ हजारभन्दा बढी सैन्य लक्ष्यहरूमा प्रहार गरिसकेका छन्। शुक्रबार मात्रै अमेरिकी सेनाले इरानको प्रमुख तेल निर्यात केन्द्र खर्ग टापुमा आक्रमण गरेको थियो। ऊर्जा संरचनालाई सुरक्षित राख्दै सैन्य अखडाहरू मात्र ध्वस्त पारिएको अमेरिकी दाबी छ। तर, इरानले आफ्ना तेल संरचनामा थप क्षति पुगेमा अमेरिकी ऊर्जा कम्पनीहरूमाथि कडा प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ।
यस द्वन्द्वले सिर्जना गरेको मानवीय सङ्कट झनै भयावह छ। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायको तथ्याङ्कअनुसार इरानभित्रै करिब ३२ लाख मानिस विस्थापित भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी हालसम्म १ हजार २०० भन्दा बढीको मृत्यु भएको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। युद्धको पहिलो दिनमै सर्वोच्च नेता अली खामेनीको मृत्यु भएपछि नियुक्त हुनुभएका उहाँका छोरा मोजतबा खामेनी घाइते भएको विवरण सार्वजनिक भएका छन् र उहाँ हालसम्म सार्वजनिक रूपमा देखा पर्नुभएको छैन। यद्यपि, इरानी अधिकारीहरूले नेतृत्वमा सङ्कट नरहेको दाबी गरेका छन्।
युद्धको प्रभाव इरानको सिमाना नाघेर समग्र मध्यपूर्वमा फैलिएको छ। लेबनानमा हिजबुल्लाह र इजरायली सेनाबीच प्रत्यक्ष झडप सुरु भएको छ। लेबनानी अधिकारीहरूका अनुसार इजरायली आक्रमणबाट त्यहाँ कम्तीमा ८२६ जनाको मृत्यु भइसकेको छ भने लाखौँ मानिस घरबारविहीन भएका छन्।
यसैगरी, इरानले इजरायल र खाडी राष्ट्रहरूतर्फ निरन्तर क्षेप्यास्त्र र ड्रोन प्रहार गरिरहेको छ। जेरुसेलममा विस्फोटका आवाज सुनिएका छन् भने संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाह क्षेत्रमा आगलागीको धुवाँ देखिएको छ। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलको राडारमा क्षति पुगेको छ र इराकस्थित अमेरिकी दूतावासमा दोस्रो पटक ड्रोन आक्रमण भएको छ। साउदी अरेबिया र कतारले पनि आफ्नो आकाशमा क्षेप्यास्त्रहरूलाई विफल पारेको जनाएका छन्।
यस युद्धमा अमेरिकाले हालसम्म आफ्ना १३ सैनिक गुमाएको छ, जसमध्ये छ जनाको इराकमा विमान दुर्घटनामा परी मृत्यु भएको हो। अमेरिकाले यस क्षेत्रमा युएसएस त्रिपोली जहाजसहित थप २ हजार ५०० समुद्री सैनिक पठाएको छ। युद्धको त्रासले अस्ट्रेलिया भ्रमणमा रहेको इरानी महिला फुटबल टोलीका सदस्यहरूले देशद्रोहको मुद्दा लाग्ने डरले त्यहीँ शरण मागेका छन् भने बहराइन र साउदी अरेबियामा तय भएका अन्तर्राष्ट्रिय कार दौड प्रतियोगिताहरू पनि रद्द गरिएका छन्।
खाडी राष्ट्रहरूदेखि लेबनानसम्म फैलिएको यस युद्धले तत्काल विश्राम लिने कुनै सङ्केत नदेखाउँदा, यसले विश्वभरको आपूर्ति शृङ्खला र मध्यपूर्वको भूराजनीतिक स्थिरतामा दीर्घकालीन र विनाशकारी प्रभाव पार्ने निश्चित छ।