रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाको प्रा. लि. ले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ग्रुपका अध्यक्ष श्री कमल किशोर मालपानी र चेयरमेन श्री चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो। भोटेकोशीको बाढीले पुर्याएको ठूलो जनधनको क्षतिपछि राहत कार्यलाई तीव्रता दिन यो सहयोग हस्तान्तरण गरिएको हो।

नगद सहयोगका साथै कम्पनीले अतिप्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङका पीडितहरूका लागि ३० लाख रुपैयाँ बराबरको करेन्ट चाउचाउ प्रत्यक्ष रूपमा वितरण गरेको छ। प्रभावित जनता तथा विभिन्न आश्रयस्थलहरूमा रहेका पीडितहरूलाई यो आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराइएको छ।

विपदको यस कठिन घडीमा आवश्यक परेमा थप चाउचाउ पठाउन र पीडितहरूलाई जुनसुकै प्रकारको सहयोग गर्न यशोदा ग्रुप इन्डस्ट्रिज प्रा. लि. पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। उद्योग क्षेत्रको यस प्रकारको अग्रसरताले विपद् व्यवस्थापन र पुनर्स्थापना कार्यमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।