पाकिस्तानमा डेङ्गुको सङ्क्रमण विगत एक दशकमा ३,००० प्रतिशतभन्दा बढीले बढेको एक नयाँ अध्ययनले देखाएको छ। अगा खान विश्वविद्यालयद्वारा गरिएको अध्ययनअनुसार सन् २०१२ मा करिब १ लाख रहेको डेङ्गु सङ्क्रमण सन् २०२२ सम्म आइपुग्दा अनुमानित ३२ लाख ८० हजार पुगेको छ।

पिएलओएस वान पत्रिकामा प्रकाशित अध्ययनले सरकारी नियमित निगरानी प्रणाली र वास्तविक सङ्क्रमण दरबीच ठूलो अन्तर रहेको स्पष्ट पारेको छ। अनुसन्धानकर्ताहरूका अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कहरू यस सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएका छन्।

भौगोलिक रूपमा सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ सन् २०२२ मा मात्रै अनुमानित २६ लाख ३० हजार मामला दर्ता भएका थिए। कराँची जस्ता घना बस्ती भएका शहरहरूमा ढल निकासीको अभाव, फोहोर व्यवस्थापनको कमजोरी र जमेको पानीका कारण लामखुट्टेको प्रजनन तीव्र गतिमा बढेको छ।

मुख्य अनुसन्धानकर्ता डा. जर्माइन नसिमका अनुसार डेङ्गु अब मौसमी समस्या मात्र नरहेर वर्षैभरि रहने दीर्घकालीन चुनौती बनेको छ। पाकिस्तानका स्वास्थ्य निकायहरूले रोगको वास्तविक दायरा पहिचान गरी निगरानी प्रणाली सुदृढ नगरेसम्म यो जनस्वास्थ्य सङ्कट थप भयावह बन्ने देखिन्छ।