रास्वपाभित्रको अनौठो दृश्य: टिकट पाउँदा सदस्य नभएका सांसदहरू मन्त्री बन्न कसलाई रिझाउने भन्नेमा अन्योलमा, बालेन सामाजिक सञ्जालमै व्यस्त।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व गर्ने पक्कापक्की जस्तै हुँदा राजनीतिक वृत्तमा एउटा अभूतपूर्व र अनौठो परिदृश्य देखा परेको छ। पार्टीका तर्फबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र साह (बालेन) स्वयं हालसम्म रास्वपाका साधारण सदस्य समेत छैनन्। अर्कोतर्फ, भर्खरै चुनाव जितेर आएका अधिकांश नयाँ सांसदहरू पनि पार्टी सदस्यताविहीन नै छन्।

संसदीय अभ्यासमा प्रधानमन्त्री बन्ने व्यक्ति संसदीय दलको नेता र पार्टीको आधिकारिक र महत्त्वपूर्ण पदीय दायित्वमा हुने गर्छ। तर, रास्वपा र बालेनबीच चुनावअघि भएको 'विशेष सहमति' का आधारमा उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइए पनि, उनले कहिले र कसरी पार्टीको औपचारिक सदस्यता लिन्छन् भन्ने विषय अझै रहस्यकै गर्भमा छ।

बालेनको बेवास्ता: कार्यालय जाँदैनन्, सामाजिक सञ्जालमै रमाउँदै

मुलुकको कार्यकारी प्रमुख बन्ने सँघारमा रहेका बालेनको दैनिकी भने उदेकलाग्दो छ। सरकार गठनको गहन गृहकार्य र राजनीतिक भेटघाटमा व्यस्त हुनुपर्ने समयमा उनी नियमित रूपमा पार्टी कार्यालय (वनस्थली) गएका छैनन्।

स्रोतका अनुसार, पार्टीभित्र आन्तरिक छलफल चलिरहँदा उनी भने आफ्ना साथीभाइहरूसँग सामाजिक सञ्जालमा कमेन्ट आदानप्रदान गरेर बसिरहेका छन्। देशको आगामी नेतृत्व सम्हाल्ने व्यक्तिको यो 'क्याजुअल' (हल्का) रवैयाले रास्वपाकै कतिपय पुराना नेताहरूलाई झस्काएको छ।

सांसदहरूको बिजोग: न रवि भेटिन्छन्, न बालेन !

चुनाव जित्नुअघि रास्वपाले पार्टी संरचनाभन्दा बाहिर रहेका तर जनमानसमा लोकप्रिय अनुहारहरूलाई धमाधम प्रतिनिधि सभाको टिकट बाँडेको थियो। तिनै गैर-सदस्य उम्मेदवारहरू चुनाव जितेर सांसद त बने, तर अहिले उनीहरू चरम अन्योलमा छन्।

मुख्य समस्या 'शक्ति केन्द्र' को पहिचानमा देखिएको छ। सांसदहरू मन्त्री बन्ने दौडमा त छन्, तर लबिङ कसलाई गर्ने? पार्टीमा कसकोमा गएर समन्वय गर्ने भन्ने स्पष्ट चेन अफ कमान्ड (Chain of Command) उनीहरूले बुझ्न सकेका छैनन्।

एक नवनिर्वाचित सांसदले आफ्नो अलमल सुनाउँदै भने, "मन्त्री बन्ने रहर त छ, तर कुरा कोसँग राख्ने? प्रधानमन्त्री बन्ने बालेन हुन्, उनलाई भेट्न कहाँ जाने अत्तोपत्तो छैन। पार्टी सभापति रवि लामिछानेलाई भेट्न खोज्यो, उहाँको आफ्नै व्यस्तता छ। हामी त बीचमा रुमल्लिएका छौँ।"

नेतृत्व व्यवस्थापनमा रास्वपालाई चुनौती

यसले रास्वपाभित्रको सांगठनिक भद्रगोललाई छताछुल्ल पारेको छ। गैर-सदस्यहरूलाई टिकट दिएर चुनाव जित्ने रणनीतिका रूपमा सफल देखिए पनि, सरकार सञ्चालन र संसदीय व्यवस्थापनमा यो 'प्रयोग' प्रत्युत्पादक बन्ने जोखिम देखिएको छ।

पार्टी एकातिर र प्रधानमन्त्रीका उम्मेदवार अर्कोतिर हुँदा भोलि सरकारले गर्ने निर्णयमा पार्टीको स्वामित्व कसरी स्थापित हुन्छ भन्ने गम्भीर प्रश्न उब्जिएको छ। सांसदहरूले मन्त्री बन्न सभापति लामिछानेको ढोका ढकढक्याउने कि प्रधानमन्त्रीका उम्मेदवार बालेनको दैलो कुर्ने? रास्वपाले सरकार गठनअघि नै यो शक्ति बाँडफाँड र समन्वयको स्पष्ट खाका कोर्न नसके, नयाँ सरकार सुरुवाती दिनमै आन्तरिक कलहको भुमरीमा फस्ने निश्चित छ।