काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता बनेका बालेन्द्र साह (बालेन) आज दोस्रो पटक पार्टी कार्यालय 'घन्टीघर' जाँदैछन्। आज (चैत १२ गते) दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएलगत्तै बनस्थलीस्थित केन्द्रीय कार्यालयमा राखिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन्।

यसअघि माघ ४ गते वरिष्ठ नेताको पदभार ग्रहण गर्ने क्रममा बालेन पहिलोपटक पार्टी कार्यालय पुगेका थिए। त्यतिबेला सभापति रवि लामिछानेले स्वागत गरेपछि दुवैले सँगै घन्टी बजाएका थिए। तर, उनी त्यहाँ दिउँसो ३:४३ मा पुगेर ३:५३ मै अर्थात् जम्मा १० मिनेट मात्र बिताएर फर्किएका थिए। पदभार ग्रहण गर्ने र अहिले संसदीय दलको नेता बन्ने स्वार्थबाहेक बालेन पार्टी कार्यालय नजाने गरेको विश्लेषण भइरहेको छ। बालेनलाई कार्यालयमै उपस्थित गराउनकै लागि आज सांसदहरूसहितको बैठक पार्टी कार्यालयमा राखिएको धेरैको बुझाइ छ।

आजको बैठकको मुख्य उद्देश्य रास्वपाको संसदीय दलको नेता चयन गर्नु हो। लोकतान्त्रिक अभ्यासअनुसार संसदीय दलको नेता सार्वभौम सांसदहरू आफैंले भोटिङ वा सहमतिबाट छान्नुपर्ने हुन्छ। तर, रास्वपामा भने केन्द्रीय कमिटीको बैठकमार्फत बालेनलाई दलको नेता बनाउने तयारी गरिएको छ। शपथ ग्रहण सकिनेबित्तिकै सांसदहरूलाई हतार-हतार भेडाबाख्रा जस्तै पार्टी कार्यालयमा बोलााइनुलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। यस कदमले संसदीय दललाई स्वतन्त्र छाड्नुको साटो केन्द्रीय कमिटीले पूर्ण रूपमा आफ्नो लगाममा राख्न खोजेको स्पष्ट पारेको छ।

यति धेरै तयारी र चासोका बाबजुद आजको केन्द्रीय कमिटी बैठकमा बालेन उपस्थित हुन्छन् वा हुँदैनन् भन्ने अझै निश्चित भइसकेको छैन। सार्वभौम सांसदको अधिकार मिच्दै केन्द्रीय कमिटीको हस्तक्षेपबाट उनी कसरी संसदीय दलको नेता बन्छन् भन्ने हेर्न बाँकी छ। रास्वपाभित्रको यो शक्ति अभ्यास र नाटकीय घटनाक्रमले अहिले कुनै चलचित्रको भन्दा कम रोमाञ्चक दृश्य पस्किरहेको छैन, जसले देशलाई भने निःशुल्क मनोरञ्जन दिइरहेको छ।