कोन्डागाउँ, छत्तीसगढ — अनियन्त्रित दोहन र प्राकृतिक बासस्थानको बिनासका कारण दुर्लभ औषधीय वनस्पतिहरू लोप हुने खतरा बढिरहेका बेला छत्तीसगढको बस्तर क्षेत्रमा सञ्चालित २५ वर्ष लामो संरक्षण अभियानले भारतको प्राकृतिक वनौषधि विरासत जोगाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। पाँच एकड क्षेत्रफलमा फैलिएको मा दन्तेश्वरी एथनिक हर्बल गार्डन मा तेलिया कन्द, हिरनतूतिया, मञ्जूर गोडी, रसना जडी र कुरवाँ जडीजस्ता ३४० भन्दा बढी दुर्लभ प्रजातिका जडीबुटीहरूलाई तिनकै प्राकृतिक वातावरणमा संरक्षण र प्रवर्द्धन भइरहेको छ।

कोन्डागाउँस्थित मा दन्तेश्वरी हर्बल परिसरको बैठका हलमा आयोजित भगवान धन्वन्तरि अवतरण दिवस तथा धनतेरस समारोहमा यस संरक्षण अभियानको महत्वबारे व्यापक छलफल गरियो। आयुर्वेद विश्व परिषद्, एमडी बोटानिकल्स, जनजाति अनुसन्धान तथा कल्याण संस्थान, सम्पदा र मा दन्तेश्वरी हर्बल समूहको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको शुभारम्भ परिषद्का राष्ट्रिय अध्यक्ष डा. राजाराम त्रिपाठीले संस्कृत मन्त्रोच्चारणसहित धन्वन्तरि पूजा गरेर गर्नुभएको थियो।

कार्यक्रममा एमडी बोटानिकल्स अभियानकी नेतृत्वकर्ता अपूर्वा त्रिपाठीले बजारमा जडीबुटीजन्य उत्पादनको माग बढे पनि शुद्धता र प्रामाणिकताको चुनौती कायमै रहेको बताउनुभयो। बस्तरका आदिवासी महिलाहरूले जैविक पद्धतिबाट उब्जाएका जडीबुटीहरूलाई एमडी बोटानिकल्स ब्रान्डमार्फत अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर महिलाहरूको आर्थिक आत्मनिर्भरता र परम्परागत ज्ञानलाई उच्च सम्मान दिलाउने प्रयास भइरहेको उहाँको भनाइ थियो।

आयुर्वेद विश्व परिषद्का राष्ट्रिय अध्यक्ष डा. राजाराम त्रिपाठीले वन क्षेत्र घट्दो क्रममा रहेको र जडीबुटीको माग बढ्दै जाँदा बजारमा मिसावटयुक्त तथा नक्कली उत्पादनको कारोबार बढ्नु चिन्ताजनक रहेको उल्लेख गर्नुभयो। प्राकृतिक बासस्थान नष्ट हुँदा धेरै दुर्लभ वनौषधिहरू सधैंका लागि लोप हुने जोखिम बढेको र यसले हजारौं वर्ष पुरानो परम्परागत चिकित्सा ज्ञानमा अपूरणीय क्षति पुग्ने चेतावनी उहाँले दिनुभयो। मा दन्तेश्वरी हर्बल प्रोडक्ट्स र सम्पदा संस्थाको सहयोगमा विगत २५ वर्षको अनुसन्धानबाट विकसित यस हर्बल गार्डनले भावी पुस्ताका लागि वनौषधि सम्पदा सुरक्षित राख्ने लक्ष्य लिएको छ।

सन् १९५२ जनवरी १२ मा आचार्य डा. प्रभाकर मिश्र (१००८ शङ्कराचार्य प्रभानन्द सरस्वती), तत्कालीन स्वास्थ्य मन्त्री के.एम. मुन्सी र भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको मार्गदर्शनमा स्थापित आयुर्वेद विश्व परिषद्ले लामो समयदेखि मौलिक चिकित्सा पद्धतिको संरक्षणमा काम गर्दै आएको छ। हाल धन्वन्तरि अखडाका प्रमुख आचार्य उदय मिश्रको संरक्षणमा रहेको यस संस्थाले अमेरिका जस्ता विकसित मुलुकहरूमा पनि आयुर्वेदलाई समग्र जीवन विज्ञानका रूपमा स्वीकार्न थालिएको जनाएको छ।

समारोहमा मा दन्तेश्वरी हर्बल समूहकी अध्यक्ष जसमती नेताम, सम्पदाकी महासचिव शिप्रा त्रिपाठी, मा दन्तेश्वरी हर्बल प्रोडक्ट्सका निर्देशक अनुराग कुमार, एमडी बोटानिकल्सका सीईओ केभिन कुमार र मिसन लिडर कृष्णा नेताम लगायतका प्रतिनिधिहरूले दुर्लभ वनौषधिको रक्षा र स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने शपथ लिएका थिए। प्राकृतिक स्रोत र आदिवासी ज्ञानको संरक्षणबिना आयुर्वेदको दिगो विकास असम्भव रहेको सन्देश दिँदै कार्यक्रम समापन भएको थियो।