नेपाली काँग्रेसभित्र नेतृत्वको विषय औपचारिक निर्णय प्रक्रियामा प्रवेश गरेको छ, जहाँ सभापति गगनकुमार थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्ने बताइएको छ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री उदय शमशेर राणाले राजीनामाको विषय बैठकको प्रमुख एजेण्डामा रहेको जानकारी दिनुभयो। उक्त बैठकमा प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षा पनि सँगै हुने उनले उल्लेख गर्नुभयो।

उहाँका अनुसार अधिकांश नेता र कार्यकर्ताले वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै थापाको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरिरहेका छन्। पार्टी विधानअनुसार राजीनामाको विषय केन्द्रिय समितिमा पेश भई सामूहिक छलफलपछि मात्रै निर्णय हुने उनले स्पष्ट पार्नुभयो।

निर्वाचन परिणामको प्रारम्भिक समिक्षा जारी रहेको र सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको प्रतिवेदन माग गरिएको जानकारी दिँदै राणाले सबै प्रतिवेदन प्राप्त भएपछि विस्तृत समीक्षा गरिने बताउनुभयो।

सभापति थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत पेश गरिसकेका छन्, जसले आगामी बैठकलाई नेतृत्व र रणनीति दुवै हिसाबले महत्वपूर्ण बनाएको छ।