यशोदा फुड्स प्रालीले आफ्नो उत्पादन "करेन्ट हट एण्ड स्पाईसी" चाउचाउको एउटा निश्चित ब्याचबाहेक बजारमा उपलब्ध अन्य सम्पूर्ण उत्पादनहरू उपभोगका लागि पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ। कम्पनीले हालै एक सार्वजनिक सूचना जारी गर्दै उपभोक्ता र व्यवसायीहरूमाझ फैलिएको भ्रम चिर्ने प्रयास गरेको हो।
कम्पनीका अनुसार खाद्य तथा गुण नियन्त्रण कार्यालयले कैफियत देखाएको उत्पादन मिति र ब्याच नम्बर २०२६/०२/२३-०४ए भएको १०० ग्रामको करेन्ट हट एण्ड स्पाईसी चाउचाउ मात्र गुणस्तरहीन पाइएको हो। सो निश्चित ब्याचबाहेक अन्य कुनै पनि उत्पादनमा समस्या नरहेको दाबी गरिएको छ।
उक्त तोकिएको मिति र ब्याचबाहेक अन्य मितिहरूमा उत्पादन भएका, चाहे ती ०४ए ब्याचका हुन् या अन्य फरक ब्याचका, सबै चाउचाउहरू गुणस्तर मापदण्ड अनुकूल रहेको कम्पनीले जनाएको छ। ती उत्पादनहरूलाई आम उपभोक्ताले विनाकुनै हिचकिचाहट नियमित रूपमा प्रयोग गर्न सक्नेछन्।
रूपन्देहीको मधवलियामा रहेको यशोदा फुड्सले आफ्ना आधिकारिक बिक्रेता, खुद्रा व्यापारी तथा आम सर्वसाधारणलाई ढुक्क भएर व्यापार तथा उपभोग गर्न आग्रह गरेको छ। गुणस्तरसम्बन्धी सरकारी निर्देशनलाई पालना गर्दै कम्पनीले बजारमा आफ्नो विश्वसनीयता कायम राख्न यो स्पष्टीकरण दिएको हो।
