चलचित्र ‘मास्टर्नी’ को भर्खरै सार्वजनिक भएको एउटा गीत र यसको नामकरणलाई लिएर अहिले नेपाली कला क्षेत्र र बौद्धिक वृत्तमा ठूलै बहस र आक्रोश सुरु भएको छ। वि.सं. २०८३ भदौ १२ गते प्रदर्शनमा आउन लागेको भनिएको यो चलचित्रको शीर्षक सुन्दा नै मनमा अनेकौँ प्रश्न उठ्छन्। यो नामका दुईवटा मात्र होइन, केलाएर हेर्ने हो भने हजारवटा अर्थ र आशयहरू निस्किन्छन्, जसले आम दर्शकलाई अलमलमा पारेको छ।

आखिर ‘मास्टर्नी’ भन्न खोजिएको के हो? के यो मास्टरकी श्रीमती भन्न खोजिएको हो? यदि हो भने, कुनै पनि महिलाको पहिचानलाई उनको आफ्नै अस्तित्वभन्दा बाहिर राखेर, श्रीमान्को पेसाको आधारमा वर्गीकरण गर्नु सरासर पुरानो पुरुषवादी र पितृसत्तात्मक सोच हो। अर्कोतर्फ, यदि चलचित्रकी मुख्य पात्र आफैँ शिक्षक हुन् र उनलाई बुझाउन यो नाम राखिएको हो भने, यसले महिलाको स्वाभिमानमाथि नै प्रहार गर्छ। आजको आधुनिक समाजमा शिक्षक शब्द आफैँमा लैङ्गिक रूपमा तटस्थ (Gender-neutral) र मर्यादित छ। चाहे महिला हुन् या पुरुष, ज्ञान बाँड्ने मान्छे ‘शिक्षक’ वा ‘गुरु’ नै हो। यस्तो अवस्थामा जानीजानी सस्तो प्रचार र बिकाउपनका लागि ‘मास्टर्नी’ जस्तो हलुका शब्द प्रयोग गर्नु कतिसम्म जायज छ?

अर्को घतलाग्दो कुरा के छ भने, ‘मास्टर’ भन्दैमा हामीले किन विद्यालय वा कलेजमा पढाउने प्राज्ञिक पेसालाई मात्र सम्झिनुपर्ने? हाम्रो दैनिक बोलीचालीमा त कपडा काट्ने र सिलाउने ‘टेलरका मास्टर’, बिजुलीको तार जोड्ने ‘इलेक्ट्रिसियन मास्टर’, बिग्रेको गाडी मर्मत गर्ने ‘मेकानिक मास्टर’ वा घरको गारो लगाउने ‘डकर्मी मास्टरहरू’ पनि आ-आफ्नो काममा उत्तिकै निपुण र आदरणीय मास्टर हुन्। यदि यो चलचित्र कुनै टेलरिङ वा मेकानिक पसलको कथामा बुनिएको हो भने निर्माताहरूले समयमै स्पष्टीकरण दिनुपर्‍यो। होइन भने, एउटा प्राज्ञिक पेसालाई यसरी बङ्ग्याएर प्रस्तुत गर्नुको पछाडि कुनचाहिँ व्यापारिक स्वार्थ लुकेको छ, त्यो गम्भीर समीक्षाको विषय बनेको छ।

चलचित्रको जुन गीत बजारमा सार्वजनिक गरिएको छ, त्यसका शब्द र प्रस्तुति सुन्दा यो कुनै प्राज्ञिक वा सभ्य समाजका लागि नभई, केवल सस्तो र निम्न गुणस्तरको मनोरञ्जनका लागि मात्र तयार पारिएको प्रस्ट हुन्छ। हाम्रो समाज र संस्कृतिमा शिक्षक पेसालाई सधैँ बौद्धिक, मर्यादित र उच्च सम्मानित स्थानमा राखिन्छ। अभिभावकहरू आफ्ना बालबालिकाको भविष्य सुम्पिँदै, गुरुमाथि अगाध विश्वासका साथ उनीहरूलाई विद्यालय पठाउँछन्। हाम्रो पूर्वीय दर्शनमा त गुरुलाई मातापिताभन्दा पनि माथिल्लो दर्जा दिइएको छ।

तर विडम्बना, यो गीतको स्क्रिप्ट र भिडियोमा त्यो सामाजिक मर्यादाको धज्जी उडाइएको देखिन्छ। गीतभरि यौन-वासनायुक्त शब्दहरू र मद्यपानलाई खुलेआम प्रोत्साहन गर्ने खालका दृश्यहरू समेटिएका छन्। एउटा पवित्र र प्राज्ञिक पेसासँग यस्ता निम्न स्तरका कुराहरू जोड्नु घोर आपत्तिजनक छ। यदि चलचित्रको कथावस्तु नै यौन र मद्यपानको वरिपरि घुम्ने खालको हो भने, नाम पनि त्यही अनुसारको उत्तेजक राखेको भए सुहाउँथ्यो, शिक्षक पेसालाई किन बदनाम गर्नु? यदि अन्य पेसाको कथा हो भने पनि हरेक पेसाको आफ्नै मर्यादा हुन्छ र कतै पनि मद्यपान र यौनको नाममा मर्यादा नाघ्ने छुट हुनुहुँदैन। निर्माता टोलीले यी सबै प्रश्नहरूको जवाफ सार्वजनिक रूपमा दिनैपर्छ।

गीतको स्क्रिप्टमा ‘रात परेका बेला वा बेलुकी ट्युसन पढाइदिने’ जस्ता दोहोरो अर्थ लाग्ने संवाद र शब्दहरू बुनिएका छन्। पूरै भिडियो र स्क्रिप्टको प्रस्तुति हेर्दा यसको सम्बन्ध कतै पनि वास्तविक पठनपाठन र शिक्षासँग जोडिएको देखिँदैन, बरु रात परेपछिको एउटा भड्किलो र मनोरञ्जनात्मक समयको झल्को दिन मात्र यो प्रपञ्च रचिएको स्पष्ट हुन्छ। यदि गीतले साँच्चिकै ट्युसन पढाउने कुरालाई नै गम्भीर रूपमा लिन खोजेको हो भने पनि, विद्यालयको समयभन्दा बाहिर विद्यार्थीहरूलाई थप पढाएर मानसिक बोझ दिनु वैज्ञानिक र व्यावहारिक हुनै सक्दैन। कक्षाकोठामै गुणस्तरीय शिक्षा दिन छोडेर, बिहान-बेलुका ट्युसनका नाममा डाकेर अभिभावकहरूको ढाड सेक्ने विकृतिलाई यस गीतले झनै प्रश्रय दिएको छ। दिनभरिको पढाइले विद्यार्थीहरू बेलुकीपख थाकिसकेका हुन्छन्। यस्तो अवस्थामा ट्युसन नै पढाउने हो भने पनि बिहानको समय बढी वैज्ञानिक, व्यावहारिक र विद्यार्थीको ध्यान (concentration) का लागि उत्तम मानिन्छ, तर गीतमा भने रातको ‘उत्तेजना’ लाई मात्र प्राथमिकता दिइएको छ।

यो फिल्मको गीतको हर्कत र दृश्य हेर्दा लाग्छ, यो कुनै पारिवारिक चलचित्र होइन। बरु यो एउटा यस्तो अश्लील वृत्तचित्र बन्ने बाटोमा छ, जुन सेन्सर बोर्डको तराजुमा पास हुनै सक्दैन। यदि भूलवश पास भइहालेछ भने पनि यसलाई सिधै 'Adult' (१८ वर्षभन्दा माथिकाले मात्र हेर्न मिल्ने) प्रमाणपत्र दिएर हलको सट्टा कुनै बन्द कोठामा थुन्नुको विकल्प छैन। यस्ता मर्यादित पेसालाई बदनाम गर्ने फिल्म बनाउने निर्माता, त्यसमा अङ्गप्रदर्शन र द्विअर्थी संवाद बोल्ने कलाकार, र यस्तो फोहोरलाई पैसा तिरेर हेर्ने दर्शक— सबैलाई कसुर अनुसार ३ महिनादेखि आजीवन कैदको दण्ड दिनुपर्ने हो। यदि वर्तमान कानुनमा यस्तो सांस्कृतिक प्रदूषण फैलाउनेहरूलाई तह लगाउने प्रावधान छैन भने, अहिले देशमा संविधान संशोधनको बहस चलिरहेकै बेला प्रधानमन्त्री बालेन्द्र शाहको टिम र संविधान संशोधनको मस्यौदा टोलीले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिई मौलिक संस्कृति जोगाउन कडा कानुनको व्यवस्था गर्नुपर्छ।