विराटनगरमा आयोजना हुने ‘विराट एक्स्पो २०२६’ को नवौँ संस्करणको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यस सम्बन्धमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच विराटनगरमा औपचारिक सम्झौता भएको छ। सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा विराट एक्स्पोसँग जोडिएका छन्।

उद्योग संगठन मोरङले करिब तीन दशकदेखि आयोजना गर्दै आएको यो एक्स्पो आगामी पौष २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुँदैछ। यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीभन्दा फराकिलो बनाउँदै लर्न एण्ड वर्क, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार र मनोरञ्जनका अवसरहरूसँग जोडिने आयोजकले जनाएका छन्। एक्स्पोमा उद्योगी, व्यवसायी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्मातासहित २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले एक्स्पोको प्रभाव र पहुँच अझ विस्तार हुने बताउनुभयो। विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकको सहभागिताले एक्स्पोमा थप ऊर्जा र आकर्षण थप्ने भन्दै साझेदारीलाई ब्राण्ड प्रवर्द्धनमा मात्र सीमित नराखी एक्स्पोका विभिन्न गतिविधिहरूसँग जोडिने उल्लेख गर्नुभयो।

एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले नवौँ संस्करणमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताउँदै कार्यक्रममार्फत साझेदारीलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। विराट एक्स्पो २०२६ ले उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेको छ।