सरकारले प्रहरी संगठन र यसका प्रमुखमाथि गरेको जिम्मेवारी हेरफेर तथा प्रहारप्रति आपत्ति जनाउँदै जेन्जी अभियान्ता अजय सोडारीले कडा विरोध जनाएका छन्। सत्ता र शक्तिको दुरुपयोग गरी प्रहरी प्रशासनलाई राजनीतिक स्वार्थ सिद्ध गर्ने साधन बनाउन खोजिएको भन्दै उनले सरकारी कदमलाई गैरकानुनी र संवेदनशील भनेका छन्।
वक्तव्य जारी गर्दै अभियान्ता सोडारीले जेन्जी आन्दोलनपछि बिस्तारै लयमा फर्किँदै गरेको प्रहरी संगठनमाथि यस्तो प्रहार हुनु नियतवश गरिएको षड्यन्त्र भएको दाबी गरे। उनका अनुसार यो कदम सिंगो प्रहरी निकायलाई बदनाम गराउने र संस्थागत संरचना नै ध्वस्त पार्ने उद्देश्यबाट प्रेरित छ।
सञ्चालित प्रहरी प्रशासनलाई कमजोर पार्ने कुनै पनि नियत स्वीकार्य नहुने भन्दै सोडारीले यसको सशक्त प्रतिवाद हुनुपर्नेमा जोड दिएका छन्। उनले प्रहरी संगठन स्वयं, देशभक्त नागरिक तथा जेन्जी युवाहरूलाई यस्तो गैरकानुनी हस्तक्षेपविरुद्ध चुप लागेर नबस्न र खबरदारी गर्न जोडदार आह्वान गरेका छन्।
प्रहरी नेतृत्वमाथिको पछिल्लो फेरबदललाई लिएर युवा वृत्तमा असन्तोष बढ्दै जाँदा, राज्यको शक्ति दुरुपयोगविरुद्ध नागरिक तथा संस्थागत प्रतिरोध अझ सशक्त हुने देखिएको छ।