काठमाडौं — सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजीपी) पदबाट पदमुक्त गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई हटाएर केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। जिम्मेवारी खोसिएका कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।

कार्कीले गत कात्तिक २७ गतेदेखि प्रहरी प्रमुखको कार्यभार सम्हाल्नुभएको थियो। २०८२ फागुन २१ गते भएको निर्वाचनका क्रममा म्यादी प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको आरोप कार्कीमाथि लाग्दै आएको थियो।

नवनियुक्त प्रहरी प्रमुख केसी र पदमुक्त हुनुभएका कार्की दुवै एकै ब्याचका अधिकृत हुन्।