अब उपभोक्ताहरूले सुन किन्न न्यूरोडका महँगा सुन पसल वा सुनचाँदी व्यवसायीकहाँ धाइरहनु पर्ने कष्ट गर्नु नपर्ने भएको छ, किनभने बहुमूल्य सुन अब गल्ली–गल्लीका स्थानीय किराना पसलमै उपलब्ध हुन थालेको छ। हुन त यो सुन किराना पसलको र्याकमा सीधै पैसा तिरेर किन्न भने पाइँदैन। तर, त्यहाँ लहरै सजाइएका स्वास्थ्यका लागि हानिकारक र लत बसाउने 'xTreme' इनर्जी ड्रिंक किनेर त्यसमा रहेको क्यूआर कोड स्क्यान गरेमा, स्क्यान गर्नेहरूमध्येका तीन जना भाग्यशाली विजेताले जनही एक–एक वटा 'सुनको फुटबल' पुरस्कार पाउनेछन्। फिफा विश्वकपमा खेलिने एउटा सामान्य फुटबलको वजन ४१० देखि ४५० ग्रामसम्म हुन्छ भने संशयहीन रूपमा ठोस सुनकै फुटबल बनाउँदा त यसको तौल किलोग्राममै पुग्ने र ३ जना विजेताको जोड्दा कुल तौल करिब ३ केजी हुनुपर्ने निश्चित छ।
फिफा विश्वकप २०२६ को महाकुम्भको माहोललाई भजाउँदै एग्रो थाई फुड्स प्रा. लि. द्वारा उत्पादित ‘xTreme’ इनर्जी ड्रिंकले बजारमा ल्याएको यो प्रचारबाजी उपभोक्ता अधिकार र व्यावसायिक नैतिकताको ठाडो उपहास हो। कम्पनीले विज्ञापनमा ठूलो अक्षरमा 'सुनको बल' उपहार दिने घोषणा त गरेको छ, तर त्यो कति वजनको हुने हो, साच्चैको ठोस सुन हो कि केवल उपभोक्ता अल्मल्याउने सुनको जलप लगाएको खेलौना (Football toy) मात्र हो भन्ने कुरा कतै स्पष्ट खुलाएको छैन। उपभोक्तालाई पूर्ण रूपमा गुमराहमा राखेर यस्तो अव्यावहारिक र अपारदर्शी पुरस्कारको लोभ देखाउनु व्यापारिक आचारसंहिताको गम्भीर उल्लंघन र उपभोक्ता संरक्षण कानुनविपरीतको कार्य हो।
जसरी यो अस्वस्थकर रासायनिक ड्रिंकले मानव शरीरमा प्रवेश पाउनेबित्तिकै रगतको सुगर लेभल (चिनीको मात्रा) लाई खतरनाक ढंगले 'स्पाइक' गराउँछ, त्यसरी ही यस आक्रामक विज्ञापनले पनि सोझासाझा नेपाली जनताको दिमागमा भ्रमको मात्रा 'स्पाइक' गराएको छ। जनस्वास्थ्य विज्ञहरूका अनुसार यो पेय पदार्थ कुनै सामान्य चिसो वा कम हानिकारक पेय होइन। मुटु, मधुमेह वा अन्य दीर्घकालीन रोगका कारण नियमित औषधि सेवन गरिरहेका मानिसहरूले यस्ता कडा सिन्थेटिक क्याफिन र अत्यधिक चिनीयुक्त रासायनिक ड्रिंक सेवन गर्दा औषधि र यसका तत्वहरूबीच खतरनाक रियाक्सन भई मानिसको ज्यान नै जान सक्ने उच्च जोखिम रहन्छ, जसलाई विज्ञापनको झिल्के आवरणले पूर्ण रूपमा दबाएको छ।
तथ्यपरक दृष्टिकोणबाट हेर्दा, नेपाली बजारमा अचानक देखिएका यस्ता करोडौँ मूल्यका अपारदर्शी उपहार योजना र चरम भ्रामक विज्ञापनहरूको शंकास्पद बाढी केवल उपभोक्ता झुक्याउने व्यापारिक फण्डा मात्र नहुन सक्छ। कमजोर आर्थिक अवस्था र फितलो कानुनी नियमन भएको नेपाली बजारमा अल्पमूल्यको पेय पदार्थ बेच्ने कम्पनीले एकाएक यस्ता अस्वाभाविक र ठूलो मात्राको वित्तीय दायित्व रहने पुरस्कारको प्रचार गर्नुले गम्भीर वित्तीय आशङ्का उब्जाएको छ। बजार विश्लेषकहरूका अनुसार व्यावसायिक मर्यादा नाघेर गरिने यस्ता शंकास्पद कर्पोरेट अभियानहरूको अस्वाभाविक ग्राफ भित्रभित्रै उच्च तहका अवैध वित्तीय गतिविधि, व्यापक कर छली वा सम्पत्ति शुद्धीकरण (Money Laundering) जस्ता संगठित र उच्च प्रोफाइलका गैरकानुनी अपराधको सञ्जालसँग जोडिएको हुन सक्ने बलियो सम्भावना देखिन्छ, जसमाथि राज्यका नियमनकारी निकायले तत्काल उच्चस्तरीय वित्तीय अनुसन्धान थाल्न जरुरी छ।