आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको बजेटप्रति कोशी प्रदेशका उद्योगी, व्यवसायी, कृषक तथा अर्थ विश्लेषकहरूले सकारात्मक धारणा व्यक्त गरेका छन्। उत्पादन वृद्धि, निजी क्षेत्रको सहभागिता र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकता दिइएको भन्दै उनीहरूले बजेटलाई आशा जगाउने दस्ताबेजका रूपमा व्याख्या गरेका छन्।
प्रदेशका व्यवसायीहरूका अनुसार उद्योग, कृषि, पर्यटन र पूर्वाधार विकासलाई केन्द्रमा राखेर ल्याइएका कार्यक्रमले सुस्त बनेको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्न सक्छ। निजी क्षेत्रसँग सहकार्य गर्ने सरकारी प्रतिबद्धताले लगानी वातावरणमा पनि सकारात्मक सन्देश दिएको उनीहरूको भनाइ छ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष सीताराम अग्रवालले बजेटले आन्तरिक उत्पादन विस्तार, कृषिको आधुनिकीकरण तथा पर्यटन प्रवर्द्धनलाई महत्व दिएको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले रोजगारी सिर्जना र बजार विस्तारमा योगदान पुर्याउन सक्छन्। बैंक ब्याजदर घटाउने, डिजिटल कारोबार बढाउने तथा युवालाई उद्यमशीलतामा आकर्षित गर्ने योजनालाई पनि उहाँले सकारात्मक रूपमा लिनुभएको छ।
झापा र सुनसरीका पर्यटन व्यवसायीहरूले पूर्वी नेपालका पर्यटकीय क्षेत्रको विकास, सडक पूर्वाधार सुधार तथा आन्तरिक पर्यटन विस्तारसम्बन्धी योजनाबाट व्यवसायमा नयाँ ऊर्जा थपिने अपेक्षा गरेका छन्।
कृषि क्षेत्रका प्रतिनिधिहरूले सिँचाइ, भण्डारण र उत्पादन वृद्धिका कार्यक्रमलाई ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने आधारका रूपमा हेरेका छन्। सुनसरीको देवानगन्जका कृषक रामविलास चौधरीले यस्ता कार्यक्रम ग्रामीण समुदायका लागि महत्वपूर्ण रहेको बताउनुभयो।
अर्थ विश्लेषकहरूले पनि कठिन आर्थिक परिस्थितिका बीच विकास र उत्पादनमुखी नीति ल्याइनुलाई सकारात्मक संकेतका रूपमा लिएका छन्। धरानका अर्थ विश्लेषक कृष्णकुमार अग्रवालले सरकारले निजी क्षेत्रलाई साझेदार मानेर लगानी र उत्पादन वृद्धि गर्ने दिशा लिएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।
सर्वसाधारणले महँगी नियन्त्रण, रोजगारी सिर्जना र पूर्वाधार विस्तारका योजनाले अपेक्षित परिणाम दिए जनजीवनमा सुधार आउने विश्वास व्यक्त गरेका छन्। इटहरीका युवा अभियन्ता प्रिन्स दाहालले बजेटमा समेटिएका स्टार्टअप, सूचना प्रविधि र स्वरोजगारसम्बन्धी कार्यक्रमलाई युवाका लागि अवसरका रूपमा लिनुभएको छ।
कोशी प्रदेशमा बजेटप्रति समग्र प्रतिक्रिया सकारात्मक देखिएको छ। यद्यपि, अपेक्षित उपलब्धि हासिल गर्न योजनाको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा महत्वपूर्ण पक्ष रहने सरोकारवालाहरूको धारणा छ।