काठमाडौँ । सुदूरपश्चिमको कला, संस्कृति, स्थानीय पहिचान र व्यापारलाई जोड्दै आएको सुदूरपश्चिम महोत्सवको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक जोडिएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघ र एक्स्ट्रिमको उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रा.लि.बीच यससम्बन्धी सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो ।

यस वर्षको सुदूरपश्चिम महोत्सव २०८३ मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म कैलालीको धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलमा आयोजना हुनेछ । ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवमा एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गर्ने दर्शकले निःशुल्क प्रवेश पाउने व्यवस्था गरिएको छ । यस व्यवस्थाले दर्शकलाई सहभागी हुन सहज बनाउनुका साथै महोत्सवको आकर्षण र सहभागिता बढाउने अपेक्षा गरिएको छ ।

सडक महोत्सव र आकर्षण

सुदूरपश्चिमको मौलिक संस्कृति, स्थानीय उत्पादन, कृषि, व्यापार र पर्यटन प्रवर्द्धन गर्दै आएको यस महोत्सवमा स्थानीय प्रतिभाको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, व्यापारिक प्रदर्शनी र मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन् ।

यस वर्ष महोत्सवसँगै सडक महोत्सवसमेत सञ्चालन गरिने भएको छ । यसले महोत्सवको रौनकलाई आयोजनास्थलमा मात्र सीमित नराखी सडकसम्म विस्तार गर्ने र उत्सवलाई थप भव्य तथा सहभागितामूलक बनाउने लक्ष्य आयोजकले राखेको छ ।

संस्कृति र व्यापार विस्तारमा सहकार्य

खेलकुद, संगीत तथा मनोरञ्जनका कार्यक्रमसँग सहकार्य गर्दै आएको एक्स्ट्रिमले टाइटल स्पोन्सरका रूपमा महोत्सवका विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहकार्य गर्ने अपेक्षा गरिएको छ ।

यस सहकार्यले स्थानीय प्रतिभाको पहिचान, कला र संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन तथा पर्यटन र व्यापार विस्तारमा योगदान पुर्‍याउने विश्वास आयोजक र कम्पनीले लिएका छन् ।