सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर माइतीघर मण्डलामा जारी आमरण अनशन नवौं दिनमा पुग्दा राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सुरु गरेको यो आन्दोलनप्रति दिनप्रतिदिन समर्थन चुलिँदै गएको छ।

प्रतिनिधिसभाको पछिल्लो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले अनशनरत् पक्षको स्वास्थ्य र मुद्दाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले अनशन लम्बिनु राज्यको गैरजिम्मेवारीपन भएको उल्लेख गर्दै तत्काल वार्ता टोली गठन गरी सार्थक संवादमार्फत निकास खोज्न सरकारसँग माग गरिन्।

अनशनस्थलमै पुगेर राष्ट्रिय मधेशी आयोगका अध्यक्ष विनय दत्तले आन्दोलनका मागहरूप्रति संस्थागत प्रतिबद्धता व्यक्त गरेका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकार पछि हट्न नमिल्ने स्पष्ट पारे।

अध्यक्ष दत्तले देशमा बढ्दो अवैध आर्थिक गतिविधि, खुला सीमानाबाट हुने घुसपैठ र गैरकानुनी आप्रवासनले राष्ट्रिय सुरक्षामा गम्भीर धक्का पुर्याएको टिप्पणी गरे। यसका साथै नेपालमा हिन्दू राष्ट्रको संवैधानिक प्रावधान हटेपछि बहुसंख्यक समुदायमाथि हिंसात्मक घटना बढेको दाबी गर्दै उनले यी विषयमा व्यापक राष्ट्रिय बहस हुनुपर्ने धारणा राखे।

मागीघरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सर्वसाधारणको उपस्थिति बाक्लिँदै गए पनि नेपाल सरकारका तर्फबाट अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया वा सम्झौताको पहल भएको छैन।