नेपालका नयाँ पुस्ताका जेन जी युवा नेताहरू राज्यको कडा निगरानीमा रहेको र उनीहरूमाथि भू-राजनीतिक निकटताको सन्दर्भ जोडिएको समाचार प्रकाशन भएपछि जेनजी नेता वृत्तमा सन्नाटा छाएको छ। समाचार बाहिरिएसँगै युवा नेताहरूका आफन्त र साथीभाइले समेत उनीहरूको सुरक्षा र प्रतिनिधत्वलाई लिएर गम्भीर चासो देखाउन थालेका छन्।

यसैबीच, समाचारलाई लिएर नयाँ विवाद सिर्जना भएको छ। 'नेपाल आज' ले आफ्नो समाचारमा "शान्तिनगर क्षेत्रको होस्टेलमा बस्दै आएका महाजित अन्सारी बङ्गलादेश र पश्चिमी मुलुकहरूसँग नजिक मानिन्छन् भने बुढानीलकण्ठ बस्ने रक्षा बम तथा कीर्तिपुर क्षेत्रमा बस्दै आएका रवि किरण हमाल पश्चिमी शक्तिहरूसँग निकट मानिन्छन्" भनी उल्लेख गरेको थियो।

ध्यान दिनुपर्ने मुख्य कुरा के छ भने, मूल समाचारमा कुनै पनि देशको 'एजेन्ट' वा 'जासुस' जस्ता शब्दहरू प्रयोग गरिएका थिएनन्, केवल कूटनीतिक वा वैचारिक रूपमा 'निकट' रहेको मात्र उल्लेख थियो। तर, युवा नेता महाजित अन्सारी आफैँले भने आफ्नो सामाजिक सञ्जाल प्रतिक्रियामा 'एजेन्ट' शब्द जोड्दै सञ्चारमाध्यममाथि कडा आपत्ति जनाएका छन्।

'नेपाल आज' को फेसबुक पोस्टमा टिप्पणी गर्दै बहुआयामिक, बौद्धिक र धर्मनिरपेक्ष युवा नेताका रूपमा परिचित अन्सारीले लेखेका छन्, "राज्यको निकायलाई यस बारे जानकारी छ ? मलाई शक्तिशाली इन्डियाको एजेन्ट भन्न छोडेर कमजोर बङ्गलादेशको एजेन्ट भन्ने साहस तपाईंको कसरी भयो पत्रुकार ? यो आरोप की त पुष्टि गर्ने कि त प्रेस काउन्सिलमा जवाफ दिनका लागि तयार रहने । Nepal Aaja !"

ADVERTISEMENT Max Tiger INLINE

प्रतिवाद गर्ने क्रममा अन्सारीले 'पत्रकार' शब्दलाई तोडमरोड गरी अपशब्दको रूपमा 'पत्रुकार' भन्ने शब्द प्रयोग गरेका छन्। एक अध्ययनशील र बौद्धिक युवा नेताका रूपमा चिनिएका अन्सारीले रिसको झोकमा आफ्नो विवेकको प्रयोग नगरी तत्कालै भावनामा बगेर यस्तो निम्नस्तरीय शब्द प्रयोग गर्नु उनको व्यक्तित्व र छवि अनुकूल नभएको भन्दै टीकाटिप्पणी सुरु भएको छ।

अन्सारीको उक्त आक्रोशपूर्ण कमेन्टपछि सामाजिक सञ्जालमा नागरिकहरूबाट पनि निकै उग्र र आक्रोशित प्रतिक्रिया आउन थालेका छन्। अन्सारीको कमेन्टको प्रतिवाद गर्दै प्रदीप पोखरेल नाम गरेका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, "Majid Ansari त देश को लागि गदर होस तलाई देश निकाला गरियोस् !"

राज्यको गुप्तचरी निकायको अनुगमन, मिडियाको रिपोर्टिङ, र त्यसमाथि बौद्धिक भनिएका युवा नेताले आवेगमा दिएको गैर-जिम्मेवार अभिव्यक्ति र सर्वसाधारणको आक्रोशले सडकदेखि डिजिटल प्लेटफर्मसम्मको माहौललाई अझ उत्तेजित र पेचिलो बनाउँदै लगेको छ।

यो पनि पढ्नुहोस्:  यी ६ युवा नेतामाथि सूक्ष्म जासुसी: मध्यरातमै पक्राउ पर्ने उच्च सम्भावना!