​चौतर्फी विरोध र प्राज्ञिक वृत्तबाट तीव्र आलोचना भएपछि अन्ततः चलचित्र ‘मास्टर्नी’ का निर्माता तथा कलाकारहरू आफ्नो गल्ती स्वीकार गर्दै पछि हट्न बाध्य भएका छन्। चलचित्रको प्रचारात्मक भनिएको गीतले शिक्षक पेसा, सामाजिक मर्यादा र गुरुआमाहरूको स्वाभिमानमाथि नै हिलो छ्यापेको भन्दै देशव्यापी रूपमा आक्रोश चुलिएपछि नायिका एवं निर्माता प्रियंका कार्की र गायक दुर्गेश थापाले छुट्टाच्छुट्टै स्पष्टीकरण जारी गर्दै आम जनमानससँग माफी मागेका हुन्। विवादित बनेको उक्त गीतलाई दुर्गेश थापाको आधिकारिक युट्युब च्यानल र उनीहरूका अन्य सबै सामाजिक सञ्जालका प्लेटफर्महरूबाट सधैँका लागि हटाइसकिएको छ।

​चाखलाग्दो कुरा के छ भने, चौतर्फी घेराबन्दीमा परेपछि अहिले निर्माण पक्षले उक्त गीत चलचित्रको मुख्य कथावस्तुकै हिस्सा नभएको दाबी गर्न थालेको छ। नायिका प्रियंका कार्कीले आफ्नो सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै उक्त गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई, विशुद्ध प्रचारप्रसारको उद्देश्यले आपसी समन्वयमा मात्र तयार पारिएको जिकिर गरेकी छन्। कला र मनोरञ्जन पस्कने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि नकारात्मक असर पुर्‍याउने आफ्नो कुनै मनसाय नरहेको भन्दै उनले अन्जानमा दर्शक र नेपाल शिक्षक महासंघको भावनामा चोट पुग्न गएकोमा गल्ती महसुस गर्दै माफी मागेकी छन्। यस्तै, गायक दुर्गेश थापाले पनि दर्शक र गुरुजनहरूलाई भगवान्को दर्जा दिँदै, मनोरञ्जनात्मक शैलीमा प्रचार गर्ने बहानामा भूलवश शिक्षकहरूको गरिमामा ठेस पुगेको स्वीकार गर्दै हृदयदेखि नै क्षमायाचना गरेका छन्।

​गीत त सामाजिक सञ्जालबाट हट्यो र मेकरहरूले यसलाई एउटा ‘महत्त्वपूर्ण पाठ’ को रूपमा पनि लिए, तर यो माफी र आत्मसमर्पण पूर्ण भने देखिँदैन। चलचित्रको शीर्षक ‘मास्टर्नी’ लाई लिएर यसअघि उठाइएका गम्भीर भाषिक, पितृसत्तात्मक र बौद्धिक प्रश्नहरूमा भने दुवै जनाले बडो चलाखीपूर्वक मौनता साधेका छन्। नाममै रहेको अनेकौँ अर्थ, अल्मल्याउने आशय र महिला शिक्षक वा कसैकी श्रीमतीलाई गलत ढङ्गले वर्गीकरण गर्ने पुरुषवादी सोचबारे निर्माण पक्षले अझै कुनै स्पष्टीकरण दिएको छैन। के केवल एउटा भद्दा र अश्लील शब्दले भरिएको गीत हटाउँदैमा चलचित्रको नामले बोकेको सस्तो र भ्रमपूर्ण मानसिकताबाट दर्शकले मुक्ति पाउने हुन्? यो प्रश्न अझै पनि अनुत्तरित नै छ।

​वास्तवमा, सामाजिक सञ्जालमा आम नागरिक, अभिभावक र बौद्धिक वर्गले गरेको यो तीव्र विरोध पूर्ण रूपमा मुनासिब र आवश्यक थियो। हलमा प्रदर्शन हुनुअघि नै चलचित्र पूर्ण रूपमा ‘फ्लप’ हुने र लगानी बालुवामा पानी खन्याएझैँ डुब्ने निश्चित देखिएपछि मात्र मेकरहरूले यो ‘ड्यामेज कन्ट्रोल’ अर्थात् माफीको बाटो रोजेको प्रस्ट बुझ्न सकिन्छ। यदि दर्शकले यसरी नै सजगता नदेखाएको र मौनता साँधिदिएको भए, सायद कलाको नाममा समाजमा अश्लीलता र विकृति पस्कने यो क्रम रोकिने थिएन। यस घटनाबाट पाठ सिक्दै आगामी दिनमा चलचित्र बनाउने निर्माता, पर्दामा देखिने कलाकार र चलचित्र हाङ्क्ने निर्देशकहरू सामाजिक उत्तरदायित्व र सिर्जनाको मर्यादाप्रति अझ बढी जिम्मेवार, मर्यादित र सचेत बन्नु आवश्यक छ। कला व्यवसाय मात्र होइन, समाजलाई दिशा निर्देश गर्ने ऐना पनि हो भन्ने कुरा अबका मेकरहरूले बेलैमा बुझून्।